July 30, 2021, Friday
२०७८ श्रावण १५

सिस्नेलाई नगरपालिका बनाइने

147

रुकुम (पूर्व) को सदरमुकाम रहेको सिस्ने गाउँपालिकालाई नगरपालिका बनाउने प्रस्ताव गाउँसभाबाट पारित भएको छ । नवौँ गाउँसभामा सिस्नेलाई नगरपालिका बनाउन पेश गरिएको प्रस्ताव गाउँसभाबाट सर्वसम्मतले पारित भएको हो ।

नगरपालिका बनाउनको लागि आवश्यक मापदण्ड सबै पूरा भएकाले सो प्रस्ताव गरिएको गाउँपालिकाले जनाएको छ । गाउँसभाबाट पारित भएको उक्त प्रस्ताव अब प्रदेश हुँदै केन्द्र सरकारमा जाने छ । सिस्ने गाउँपालिकामा अहिले आठ वडा रहेका छन् । अब दुई वटा वडालाई टुक्र्याएर १० वडासहितको सिस्ने नगरपालिका प्रदेशमा प्रस्ताव गरिने भएको गाउँपालिका अध्यक्ष कुमारी बरालले जानकारी दिइन्।

सिस्ने १ नम्बर वडालाई टुक्र्याएर १ र २ नम्बर वडा बनाइने छ भने २ नम्बर वडालाई टुक्र्याएर ३ र ४ नम्बर वडा बनाइने प्रस्ताव गरिएको छ । त्यस्तै ५, ६, ७ र ८ नम्बर वडालाई भने अहिलेकै अवस्थामा यथावत राखिने गाउँपालिका अध्यक्ष बरालले बताइन । वडा टुक्र्याउने प्रस्ताव गर्नुभन्दा अगाडिका ३ र ४ नम्बर वडालाई भने क्रमशः ९ र १० नम्बर वडा बनाउने प्रस्ताव गरिएको छ ।

जनसङ्ख्याको आधारमा हेर्दा सानो तर भौगोलिक हिसाबले ठूलो यस गाउँपालिकाका वडालाई यहाँका नागरिकको सहजताकै लागि वडा टुक्र्याउने र नगरपालिका बनाउने प्रस्ताव गाउँसभाबाट पारित गरिएको गाउँपालिकाले जनाएको छ । यस्तै, गाउँसभाबाट सिस्नेको आर्थिक विधेयक, सौजन्य आधारभूत विद्यालय र जनज्योति महिला समूहबीच जग्गा सट्टापट्टा सम्बन्धको निर्णय र कर्मचारी समायोजन सम्बन्धमा बनेको ऐन २०७८ पनि सर्वसम्मतले पारित भएको छ ।