July 30, 2021, Friday
२०७८ श्रावण १५

जेई ढलेकाे त्याे कालाे झिसमिसे साँझ ……

207

किन हाे कुन्नि त्यस वर्ष चैत्र महिनामै गहुँ भित्र्याउने काम सिद्धिएकाे थियाे ।गर्मीले उतिसाराे हैकम जमाएकाे थिएन ।दिउँसाे अलिकति गर्मी भएपनि साँझ बिहान भने शितलै थियाे ।किसानहरुले जुडाखेतमा बीउ राखिसकेका थिए ।राेपाइँका लागि खेत तयारी अवस्थामा राख्दै थिए किसानहरु ।बारीमा पनि माेलडल्लाे ,खनजाेतकाे काम धमाधम भैरहेकाे थियाे ।गाउँका बारीभरि लस्कर लागेर गाेठेमलका थुप्राहरु बसेका थिए, आकाशकाे पानी पर्खेर ।भर्खर SLC सी परीक्षा दिएर घरमै बसेकाे हुनाले मैले पनि बारीमा मल बाेक्दै थिएँ ।मैले मल बाेक्ने बारी घरदेखि अलिकति टाढा थियाे ।बा दिनभर ग्वाला जानुहुन्थ्याे गाई चराउनलाई ।त्यस समयमा बारीहरु खाली भएकाले कटनीमा चराउनु हुन्थ्याे, वन लैजानु पर्दैनथ्याे गाईगाेरु ।जेई ओछ्यानमै हुनुहुन्थ्याे ,उठेर काम गर्न नसक्ने ।भाइ सानै थियाे दैनिक चार घन्टा आउजाउ गरेर पढ्थ्याे , सात कक्षामा ।

२०३१साल नयाँ वर्षकाे दिन थियाे ।वसन्तकाे आगमनले धर्ती शाेभायमान भएकाे समय थियाे ।चराचुरुङ्गीहरु निर्धक्क सित आफ्नै धूनमा मस्त थिए ।बाेटबिरुवाले नयाँपात फेरिसकेका थिए ।त्यस समयमा अहिले जस्ताे नयाँ वर्षकाे मतलब हुदैनथ्याे ।चैते दशैं ठिक पन्ध्र दिन अघि थियाे ।चैते दशैंलाई स्यानाे दशैं पनि भन्ने चलन थियाे ।त्यस वर्षकाे पहिलाे दिन हाम्राे परिवारका लागि अविस्मरणीय रह्याे दुःखदायी र कालाेदिन हुनाले ।

जेई थलिनु भएकाे पनि ३/४ महिना भैसकेकाे थियाे ।जेई सुन्निने र ओर्लने गर्नुहुन्थ्याे ।मुख,खुट्टा र पेट नराम्ररी सुन्निएकाे थियाे ।ओखती गर्नलाई न डाक्टर, न अस्पताल न त हामीसित पैसा ने थियाे ।त्यससमयमा राेग लागेपछि गाउँले झारफुक र धामीझाँक्री भन्दा अर्काे उपाय नै थिएन ।शिक्षा र चेतनाकाे अभावले समाज रुढिगरस्त थियाे ।राेग लाग्नु भनेकाे काल लाग्नु भन्ने ठानिन्थ्याे ।

त्यस समयमा हाम्राे गाउँमा बर्दिया तिरका एकजना ठकुरी बस्थे ,उनलाई सबैले डाक्टर भन्थे ।ती डाक्टरले एलाेपेथिक ओैषधी गर्ने गर्थे ।मैले पनि ती डाक्टरलाई घरमा बाेलाएर जेईलाई जाँच गर्न लगाएँ ।उनले सुन्निएकाे ओर्लने सूई लगाइदिए ।नभन्दै जेईले पिसाब फेरेरै फाल्नुभयाे त्याे सुन्निने पानीलाई ।जेई ओर्लिएर सिट्ठी पर्नुभयाे ।हामी अब जेईलाई निकाे हुनेभयाे भनेर खुसीले फुरुङ्ग भयाैं ।

मान्छे सित त्यति कुरा गर्न मन पराउने जेई कसैले बाेलाए पनि झिजाे मान्नुहुन्थ्याे ।गर्मी मासमा पनि जेई घाममा पिठ फर्काएर सुतिरहनु हुन्थ्याे ।सुई लगाएकाे केही दिन सम्म त ठकै थियाे तर जेई फेरि सुन्निन थाल्नुभयाे ।जेई सुन्निएर पुरानै अवस्थामा पुग्नुभयाे ।चाउरिएका गाला पुष्ट हुदैगए, दाउ रिएका हातगाेडा माेटा हुदै गए ।

मेराे जागिर थेन ,पैसा आउने बाटाे क्यै पनि थेन ।त्यस समयमा SLC परीक्षा दिएकाे मान्छे घरमा बेराेजगार बस्नुपर्दैनथ्याे ।घरमै खाेज्न आउँथे मान्छे माष्टरी जागिर दिनलाई ।मलाई पनि बाेलाउन आएका थिए घरमा तर जेईकाे स्वास्थ्यकाे कारणले छाड्न सकेकाे थेन घर ।

बा केही पनि टाइँफाइँ गर्न जान्नुहुन्नथ्याे ।समाजमा गएर चाहिदाे कुरा बाेल्नसम्म सक्नुहुन्नथ्याे ।नपढेकाे हुनाले बाले जजमानी काम गर्नुभएन ।तिथिश्राद्ध आदि काम पर्दा बा मावलमा मात्र जानुहुन्थ्याे ,त्याे पनि निधार थाप्न मात्र ।त्यस समयमा यजमानी गर्न नसक्ने बाहुनकाे अवस्था निकै कमजाेर हुन्थ्याे ।नपढेकाे भएपनि चलाक बाहुनले बिर्तावार , जिमुवाल, मुखिया र धनीहरुका घरमा गएर पाती लगाइदिएर मागेर पनि कमाउँथे ,आफ्नाे गुजारा चलाउँथे ।

दिनभर मल बाेकेकाे हुनाले म लखतरान्न भएर थाकेकाे थिएँ ।भाइ भिंग्रि हाइस्कुल पढेर घर आएकाे थियाे ।बाले गाई बाँधेर राेटी बनाउनुभयाे ।लेककाे टुप्पामा घाम गएपछि राेटी खायाैं ,तीन बाउछाेराले ।संझ्यामा खाना खान दिनु हुन्नथ्याे बाले ।अघिपछि खान नखाेज्ने आमाले त्यसदिन राेटी माँग्नुभयाे र अाधा चपेराे राेटी निल्नुभयाे ,पानीसित ।त्यसदिन जेई अलि उज्याली देखिनुभयाे ।अगिपछि कुरा गर्न झिंजाे मान्ने जेई त्यसदिन भने खात्राङ्खुत्रङ् कुरा गर्नुभयाे भाइ र मसित ।बाले पटक्कै कान नसुन्ने भएकाले बासित कुरा गर्न सक्नुभएन ।मेराे मनले साेंच्याे- ,अब मेरी जेईलाई सन्चाे हुन्छ।,

बा मावल(जस्पुर)जाँदा हाेलेरीबाट एकबाेतल मट्टितेल ल्याउनुभएकाे थियाे ।साँझ एकछिन मात्र टुकी बत्ती बाल्थ्याैं संझ्या जगाउनलाई ।त्यसपछि त आगाकै भर घर उज्यालाे पार्नलाई ।त्यसदिन पनि बाले अघिपछि झैं टुकी बाल्नुभयाे र टुकीलाई हात जाेड्नुभयाे ।

टुकीकाे उज्यालाेले हाम्राे बुक्राे पनि अलिकति उज्यालियाे ।टुकीकाे मट्टितेल नसकिदै जेईकाे जीवनकाे तेल सिद्धिएकाे हामीलाई पत्तै भएन ।जेई छट्पटाउँदै बर्बराउन थाल्नुभयाे ।बाले छिमेकमा खबर गर्नुभयाे ।एकैछिनमा बाकाे कान्छबाकाे छाेरा भाइ आउनु भयाे ।बाहिर आँगनमा पुरायाैं,छट्पटाएकाे जेइकाे शरीरलाई ।हामी तीन बाउछाेराले जेईकाे मुखमा जल राखिदियाै,निल्न सकेनुभएन ।तत्कालै ती हाम्री महान आमा(जेई)काे जीवन बत्ती झ्याप्प निभ्याे अनि हाम्राे गृहस्थी र जीवन पनि बिस्तारै अँधेरिदै गयाे ।हाम्राे रुवाबासीले अरु छिमेकीहरु पनि जम्मा हुदै गए ।

,मेराे छाेराे पढेर माष्टर हुने छ।पैसा कमाएर राम्राे खान र राम्राे लाउन दिने छ ,भन्ने सपना देखेकी ती मेरी महान जेई ! सल्यानी भाका(साहि्ला जी) मा मीठाे स्वरले गीत गाउने ,चाँखी नार्दा गीतकाे ओइराे खसाल्ने ,घर र वनपाखाकी कुशल गायिका !आफू छ महिनामा टुहुरी भएकी जेई हामीलाई पनि टुहुरा बनाएर जानुभयाे ।जेईले आफ्ना सपना साथमै लिएर जानुभयाे,गरिवी र अभावकाे पुन्तुराे बाेकेर जानुभयाे फेरि नफर्कने गरि,महायात्राकाे लागि ।