July 30, 2021, Friday
२०७८ श्रावण १५

कांग्रेस सांसद अमरेशले बुझाए देउवालाई राजीनामा पत्र

106

नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई सांसद पदबाट राजीनामा दिएको पत्र बुझाएका छन् ।

क्रियाशील सदस्यता विवादलाई लिएर नेता सिंहले बुधबार प्रधानमन्त्री देउवालाई भेटेर राजीनामा पत्र बुझाएका हुन् ।

क्रियाशील सदस्यता विवादलाई लिएर कांग्रेस पार्टी कार्यालयमा सर्लाहीका नेता तथा कार्यकर्ता धर्नामा छन् । उनीहरुले पार्टी विधानविपरीत क्रियाशील सदस्यता दिएको भन्दै त्यसलाई रोक्नुपर्ने माग गरेका छन् । धर्नामा बसेकाहरुको मागमा ऐक्यवद्धता जनाउँदै सांसद सिंहले राजीनामा बुझाएका हुन् ।

समायोजनका नाममा क्रियाशील सदस्यातामा धाँधली भएको भन्दै राजीनामा बुझाएको सांसद सिंहले बताए । प्रधानमन्त्री राजीनामा पत्र बुझाउनुअघि वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्काका साथै नेता शेखर कोइरालासँग कुराकानी भएको उनले बताए । उनले भने, ‘कांग्रेसका लागि रातदिन काम गरेका कार्यकर्तालाई पाखा लगाइएको छ । ठेकदार, ब्यापारीलाई क्रियाशील सदस्यता दिइएको छ ।’

आफ्नै पार्टीका कार्यकर्तालाई न्याय दिन नसक्ने हो भने सांसद पदमा बसेर जनताको सेवा गर्न नसक्ने भएकाले प्रनिधिसभा सदस्य पदबाट राजीनामा दिएको सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद सिंहले बताएका छन् ।