December 1, 2020, Tuesday
२०७७ मंसिर १६

नेकपा  विवाद  मिलाउन नेताहरु छलफलमा जुट्दै

432

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद  मिलाउन आज पनि नेताहरु छलफलमा जुट्दैछन् ।

आज डाकिएको स्थायी कमिटी बैठकअघि हुने अध्यक्षद्वयको निर्णायक संवादले विवाद हल हुने अपेक्षा गरिएको छ ।

शुक्रबार भएको छलफल सकारात्मक भए पनि निचोडमा नपुगेकाले स्थायी कमिटी बैठकअघि दुबै अध्यक्ष छलफलमा जुट्न लागेका हुन् ।

शुक्रबारको छलफलमा सहमतिको मिलनबिन्दु खोजी गर्न दुवै अध्यक्ष सहमत भए पनि दुवै आ-आफ्नै अडानमा रहँदा निकास हुन सकेको छैन ।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पद कुनै हालतमा पनि नछोड्ने अडान लिएका छन् भने दाहालले दुईमध्ये एक पद छोड्न सुझाव दिएको बताइएको छ ।

ओलीले दुवै पद नछाड्ने तर २०७६ मंसिर ४ को सहमतिअनुसार अघि बढ्न सकिने जवाफ दिएका छन् । मंसिर ४ को सहमतिमा  ओलीले पाँच वर्ष सरकार चलाउने र प्रचण्डले कार्यकारी हैसियतमा पार्टी चलाउने उल्लेख छ ।

तर मंसिर ४ को यो सहमति ओलीकै कारण कार्यान्वयन नभएको भन्दै प्रचण्डले २०७५ जेठ २ को सहमतिअनुसार अघि बढ्नुपर्ने अडान लिएका छन् । त्यसमा पनि सहमति नभए असन्तुष्ट पक्षलाई पनि मिलाउने गरी नयाँ लिखित सहमति गर्नुपर्ने माग प्रचण्डले राखेको बुझिएको छ ।

स्रोतकाअनुसार तेस्रो तथा नयाँ विकल्पमा मंसिर ४ मा भएका सहमति कार्यान्वयन गर्दै प्रधानमन्त्री ओलीले पार्टीको म्यान्डेट बाहिर नगई सरकार चलाउने, सरकार सञ्चालन गर्न माधव कुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम लगायतका नेता रहेको ५ सदस्यीय कार्यदल गठन गर्ने, केही मन्त्री र मुख्यमन्त्री हेरफेर गर्ने विषय पनि छलफलमा आएको छ ।

यसलाई मूर्तरूप दिन दुबै पक्षले आ-आफ्नो समूहमा छलफल गरेर स्थायी कमिटी बैठकअघि निर्णायक संवाद गर्न लागेको बताइएको छ ।

स्थायी कमिटी बैठकमा अधिकांश सदस्यले प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने माग चर्काएपछि ओलीले अप्रत्याशितरूपमा संसद अधिवेशन अन्त्य गरेका थिए ।

ओलीको उक्त कदमसँगै नेकपाभित्रको विवादले नयाँ मोड लिएको थियो ।

Recent Update