काठमाडौं – नेपालमा पछिल्लो साता कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्यासँगै संक्रमणको दर पनि घटेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार १३३ नमुना परीक्षण गर्दा २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।मंगलबार संक्रमणको दर घटेर ३.३ मा आइपुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनले अघि भनेका छन्, ‘दिनहुँ संक्रमित हुनेहरुको प्रतिशत घटिरहेको छ ।’
कहाँ कहाँ थपिए संक्रमित ?
मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाजुरामा ५४ जना संक्रमित थपिएका छन् । यस्तै काठमाडौंमा १४ जना, अछाम र बैतडीमा ११/११ जना, ललितपुरमा १०, महोत्तरीमा ९, धनुषा र अर्घाखाँचीका ८, डोटीका ७, मोरङ र डडेलधुराका ६/६ जनामा संक्रमण पुष्टि भएको छ ।
रुकुम पश्चिम, नवलपुर र सल्यानका ५/५ जना, सप्तरीका ४ जना, सुनसरी, गोरखा, मकवानपुर, दाङ, सुर्खेत, र सर्लाहीका ३/३ जना, तनहुँ, पाल्पा र बर्दियाका २/२ जना, झापा, सिन्धुली, सिन्धुपाल्चोक, धादिङ, भक्तपुर, कास्की, लमजुङ, नुवाकोट, पर्सा, रामेछाप, रुपन्देही, बागलुङ, कविलवस्तु, नपलपरासी र रुकुम पूर्वका एकएक जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
मन्त्रालयका अनुसार अहिले महोत्तरी, रौतहट, पाल्पा, अछाम, वैतडी र बाजुरामा ५०० भन्दा बढी संक्रमित छन् ।
चार जिल्ला कोरोना फ्रि !
चार वटा जिल्ला कोरोना फ्रि भएको मन्त्रालयले जनाएको छ । प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्लामा अहिले एक जना पनि कोरोना संक्रमित छैनन् ।
उनका अनुसार नेपालमा निको हुनेको संख्या पनि बढ्दो छ । मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ६८८ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ७४९९ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट निको हुनेको दर ४६.३ प्रतिशत पुगेको छ ।
अहिलेसम्म समुदायमा संक्रमण छैन : डा. पाण्डे
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेका अनुसार उपत्यकामा हालसम्म २६७ जनामा कोरोना संक्रमित भेटिएका छन् । भएकामा काठमाडौं जिल्लाका १७५, ललितपुरका ४१ र भक्तपुरका ४३ जना रहेका छन् । उनीहरूमध्ये ७९ जना विदेशबाट हालै उद्धार गरी ल्याइएकाहरु हुन् ।
विदेशबाट परीक्षण गरेर ल्याउने भनिए पनि आएकामध्ये ३५ प्रतिशत हाराहारीले पीसीआर, त्यति नै आरडीटी गरेर आएकाहरू छन् । कतिपयले कोरोना संक्रमण छैन भन्ने प्रमाण पेश गरेका छन् भने केही त्यतिकै आएका छन् ।
यस्तै उपत्यका बाहिरबाट आएकाहरूका कारण पनि उपत्यकामा कोरोना संक्रमितहरूको संख्या बढेको उनले बताए ।
पाण्डेका अनुसार काठमाडौंको कपन, महाराजगञ्ज, चन्द्रागिरी, बुढानीलकण्ठ, गोल्फुटार, नैकाप क्षेत्रका संक्रमित देखिएका छन् । भक्तपुरको सल्लाघारी, चाँगुनारायण र बालकोट र ललितपुरका चापागाउँ, भैंसेपाटी, ठेँचो, गोदावरी क्षेत्रमा संक्रमित भेटिएका डा. पाण्डेले बताए । उनीहरुमध्ये कतिपय हालै बाहिरबाट आएका वा उनीहरुको सम्पर्कमा रहेका र कतिपय कतै पनि लिंक नभएका पनि पाइएको उनको भनाइ छ ।
काठमाडौं उपत्यकामा कोरोना संक्रमणको अवस्था पत्ता लगाउन १२ समुदायको नमुना संकलन भएको र केही दिनभित्र स्थिति थाहा हुने उनको भनाइ छ । ‘नख्खुटोल र तीनकुनेको २२८ जनाको परीक्षण गर्दा उहाँहरुमा कोरोना पोजेटिभ भएको देखिएको छैन’ उनले भने ‘अरु बाँकी रहेको ठाउँको पनि स्याम्पल कलेक्सन भइरहेको छ, त्यसको एक दुई दिनमा नतिजा आउँछ । काठमाडौं स्थिति थाहा हुन्छ ।’
तर अहिलेसम्म समुदायमा कोरोना संक्रमण नफैलिएको मन्त्रालयको दाबी छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. पाण्डेका अनुसार नेपालमा संक्रमित देखिएका ९७ प्रतिशत विदेशबाट आएका र ३ प्रतिशत मात्र बाहिरबाट नआएकाहरु रहेका छन् । संक्रमितमध्ये ८७ प्रतिशत पुरुष भएको र १५ देखि ५४ वर्षका व्यक्ति रहेको जानकारी दिँदै उनले मन्त्रालयको प्रेस ब्रिफिङमा भनेका छन्, ‘यदि समुदायमा गएको भए महिला–पुरुष समान रुपमा हुनुपर्थ्यो, त्यो भएको छैन ।’
उनले अघि भने, ‘भोलि समुदायमा आउन सक्छ, हामी (कोरोना भाइरस)सँगसँगै जानुपर्ने हुन सक्छ, तर अहिलेसम्म समुदायमा पुगिसकेको छैन ।’
४५ हजारको पीसीआर परीक्षण गरिने
त्यस्तै जोखिम समूह पत्ता लगाएर उनीहरुको सम्पर्कमा रहेकाहरुको पनि परीक्षण गर्ने डा. पाण्डेले बताए । भिडभाड हुने कार्यालयमा सेवा लिने, स्वास्थ्यकर्मीको सम्पर्कमा पुगेका, क्यान्सर, मिर्गौला रोगीहरुको पनि परीक्षण पनि उनले बताए ।
कोरोना संक्रमण समुदायस्तरमा फैलिएको हो वा होइन भन्ने पत्ता लगाउन नेपालका केही दिनभित्र ४५ हजार व्यक्तिको कोरोना परीक्षण गर्ने पनि डा. पाण्डेले बताए । काठमाडौं उपत्यका र बाहिरका १० जिल्लामा कोरोना परीक्षण गर्न लागिएको हो ।