November 28, 2020, Saturday
२०७७ मंसिर १४

भुवनको निवेदनपछि साम्राज्ञीको यस्तो जवाफ !

288

काठमाडौं – नेपाली सिने जगतकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक भुवन केसीबीचको झगडा नेपाल चलचित्र कलाकार संघसम्म पुगेको छ । भुवन केसीले गत असार १८ गते आफ्नो चरित्रहत्या भएको भन्दै छानबिनका लागि संघमा उजुरी दिएका थिए ।

यो उजुरीका आधारमा चलचित्र कलाकार संघले साम्राज्ञीलाई संघमा बोलाएर छलफल गरेको थियो । संघका प्रवक्ता एवम् उपाध्यक्ष मोहन निरौलाले असार २० गते साम्राज्ञीले मौखिक जवाफ दिएको बताए ।

उनका अनुसार साम्राज्ञीले संघमा आफूले सामाजिक सञ्जालमा भुवन केसीको नाम नलिएको र यो विषयलाई अगाडि बढाउन नचाहेकाले यसबारेमा थप नबोलेको बताएकी थिइन् ।

‘उहाँ (साम्राज्ञी शाह) २० गते अफिसमा आउनुभयो र आफ्ना कुरा राखेर जानुभयो, उहाँले मैले कसैको नाम लिएकी छैन भन्नुभयो,’ प्रवक्ता मोहन निरौलाले भने ।

उनका अनुसार साम्राज्ञीले संघले पहल गर्दा पछि असार २३ गते वकिलमार्फत मौखिक जवाफ दिएकी थिइन् । त्यसपछि भने उनी संघमा उपस्थित भएकी छैनिन् ।

‘साम्राज्ञीले केही समय व्यस्त छु भन्नुभयो, हामी अझै दुवै पक्षलाई मिलाउने पहल गरिरहेका छौं, उहाँसँग सम्पर्क भइरहेको छ,’ निरौलाले भने ।

उनले यो मुद्दा कलाकार संघले नै मिलाउने दाबी समेत गरे । उनले भने, ‘दुवै पक्षसँग कुरा भइरहेको छ, संघले नै यो मुद्दा मिलाउँछ ।’

Recent Update