May 16, 2021, Sunday
२०७८ जेष्ठ ३

तीन करोडको ऋण पास गरिदिने भन्दै १० लाख मागी ठगी गर्ने दुईजना पक्राउ

144

डोटी – आफूलाई १० लाख रुपैयाँ दिएमा साढे तीन करोडको ऋण पास गरिदिने भन्दै ठगी गरेको आरोपमा डोटीबाट दुईजना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा एसपी दिलीपसिंह देउवाका अनुसार पक्राउ पर्नेमा डोटी जिल्लाको आदर्श गाउँपालिका–३ की ३५ वर्षीया सञ्जाकुमारी कठायत रोकाया तथा दार्चुला जिल्लाको लेकम गाउँपालिका–१ का ३२ वर्षीय पदमराज भट्ट रहेका छन् ।

आफूहरु नेपाल बैंक लिमिटेडको शाखा अधिकृत भएको र १० लाख रुपैयाँ दिएमा साढे तीन करोड रुपैयाँको ऋण पास गरिदिन्छु भन्दै कैलालीको टिकापुर नगरपालिकाकी ४४ वर्षीया एक महिलालाई ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

उनीहरु दुवैजनालाई डोटीको दिपायल सिलगढी नगरापलिका–४ पिपल्लाबाट प्रहरीले पक्राउ गरेको हो ।