January 17, 2022, Monday
२०७८ माघ ४

कसले लगाउन पाउँछन् त ‘ओमिक्रोन’ बिरुद्धको बुस्टर डोज ?

917

सरकारले कोरोनाभाइरस (कोभिड—१९) विरुद्धको खोपको तेस्रो मात्रा अर्थात् ‘बुस्टर’ डोज दिने तयारी गरेको छ । खोपको पहिलो र दोस्रो मात्रा लगाएका दीर्घरोगीलाई तेस्रो मात्रा खोप दिने तयारी गरिएको हो ।

आइतबार बसेको राष्ट्रिय खोप सल्लाहकार समितिको बैठकले सरकारलाई पहिलो र दोस्रो मात्रा खोप लगाएका तथा एन्टीबडी कम भएका दीर्घरोगी (क्यान्सर, मुटु, कलेजो, मिर्गौला, फोक्सोसम्बन्धी जटिल स्वास्थ्य समस्या भएका नागरिक) लाई बुस्टर डोज दिन सल्लाह दिएको परिवार कल्याण महाशाखाले जनाएको छ ।

यस्तै, संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले कोरोनाविरुद्धको तेस्रो मात्रा खोप दिने विषयमा मन्त्रालयमा छलफल भइसकेकाले मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी भइरहेको बताए ।

सरकारले पूर्ण जनसङ्ख्यालाई कोरोनाविरुद्ध खोपको पहुँचमा नपुर्‍याइकनै बुस्टर डोजको तयारी गरेको छ । यद्यपि नेपालको कुल जनसङ्ख्याको ३४.१ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् भने पूर्ण मात्रा खोप २८.६ प्रतिशतले लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

ओमिक्रोन भेरियन्ट छोटो अवधिमा विश्वका विभिन्न राष्ट्रमा देखिएपछि वृद्धवृद्धा तथा दीर्घरोगीलाई विभिन्न मुलुकले खोपको बुस्टर डोज दिइरहेका छन् ।