November 28, 2020, Saturday
२०७७ मंसिर १४

कोरोनाका कारण खाडीका विभिन्न देशमा गएको साता १६ नेपालीको मृत्यु

300

काठमाण्डौ – खाडी देश कतार, कुवेत र यूएईमा एक हप्तामा १६ जना नेपालीको कोरोनाको कारण ज्यान गएको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार गएको साता कतारमा ८, कुवेतमा ३ र यूएईमा ५ जना नेपालीको कोरोनाबाट ज्यान गएको हो ।

कतारमा ज्यान गुमाउने ८ जनामध्ये २ जनाको मृत्यु अघि नै कोरोना पुष्टि भएको र बाँकी ६ जनाको मृत्युपछि कोरोना पुष्टि भएको स्वास्थ्य समितिले जनाएको छ । गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिका संयोजक डा. सञ्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न १४ देशमा रहेका १ सय ६० जना नेपालीको कोरोनाका कारण ज्यान गएको छ ।

समितिका अनुसार २० देशमा रहेका नेपालीहरु पूर्ण रुपमा कोरोना मुक्त भएका छन् । अहिलेसम्म कोराना सङ्क्रमितमध्ये ९३ प्रतिशत नेपालीहरु निको भएको स्वास्थ्य समितिले जनाएको छ । पछिल्लो समय अफ्रिकी देशमा कोरोना सङ्क्रमित नेपाली बढेका थिए । तर अहिले सबैजना उपचारपछि निको भएका छन् ।

अहिलेसम्म विदेशमा ३० हजार ५ सय ७१ जनामध्ये २८ हजार ६ सय ८१ जना नेपाली सङ्क्रमण मुक्त भएको गैरआवासीय नेपाली संघले जनाएको छ । अहिलेसम्म विदेशमा रहेका ३१ हजार ५ सय २१ जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनीहरुमध्ये २८ हजार ६ सय ८१ जना निको भएको गैरआवासीय नेपाली संघले जनाएको छ ।

Recent Update