October 29, 2020, Thursday
२०७७ कार्तिक १३

नेकपाका नेताको हत्या अभियोगमा वडाध्यक्षलाई जेल चलान

324

सर्लाही – नेकपाका एक स्थानीय नेताको हत्या अभियोगमा सर्लाही जिल्लाका एक वडाध्यक्षलाई जेल चलान गरिएको छ । हत्या अभियोगमा सर्लाहीका रामनगर गाउँपालिका वडा नम्बर–४ का वडाध्यक्ष रामनरेश महतोलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको हो ।

रामनगर गाउँपालिका वडा नम्बर–४ स्थित बहुअर्वाका ६० वर्षीय रामजनम भनिने रामजल रायको हत्या घटनामा वडाध्यक्ष महतो मुछिएका थिए । सर्लाही जिल्ला अदालतका न्यायाधीश दीनबन्धु बरालको इजलाशमा थुनछेक बहसपछि वडाध्यक्ष महतोलाई पुर्पक्षमा कारागार चलान गर्ने आदेश भएको छ । अदालतको आदेश नुसार नै वडाध्यक्ष महतोलाई गत शुक्रबार नै गौर कारागार चलान गरिएको छ ।

नेता रामजलको गत असार ७ मा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा घर नजिकैको खेतमा शव फेला परेको थियो । उनको हत्या लगत्तै प्रहरीले आरोपित वडाध्यक्ष महतोलाई पक्राउ गरेको थियो ।

रामजलको हत्यापछि उनको परिवारले नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्ष महतोसहित ९ जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएको थियो । जाहेरी परेका मध्ये ८ जना अझै पनि फरार छन् ।

नेता रामजलको हत्यापछि नेकपा र काँग्रेस एक–अर्का विरुद्ध पटक–पटक विरोध प्रदर्शन गर्दै आएका छन् ।

Recent Update