October 30, 2020, Friday
२०७७ कार्तिक १४

इतिहास पढेर बिपिलाई सम्झदा

714

 

नेपालको प्रजातान्त्रिक आन्दोलनका अजम्बरी योद्धा विश्वेश्वर प्रसाद कोईराला राजनैतिक जीवनमा  १८ महिना मात्र निर्वाचित प्रधानमन्त्रीका रूपमा सत्ताको नेतृत्व सम्हाल्ने अवसर पाएर पनि चिरकालसम्म सबैको स्मृतिपटलमा रहन र प्रेरणाको स्रोत बन्न सफल कोइराला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिका  महान्  समाजवादी चिन्तक एवम् सच्चा राष्ट्रवादी नेताका रूपमा नेपालको राजनीतिक इतिहासमा सुपरिचित छन् ।  आफ्नो जीवनकालभर नेपाली राजनीतिको केन्द्रबिन्दु भएर रहे भने देहावसान पछि पनि नेपाली राजनीति र समाजमा अमिट छाप छाडेर गएका छन् । त्यसैले वि.सं. २००७ सालको क्रान्तिपछिको ६ दशक लामो प्रजातान्त्रिक आन्दोलनको इतिहास कोइरालाकै सेरोफेरोमा घुमिरहेको जीवन्त र गर्विलो इतिहास हाम्रा सामु छ  ।

२००३ सालमा नेपाली कांग्रेसको स्थापना,२००७ सालको क्रान्ति, २०१४ सालको सत्याग्रह होस् वा २०३६ को ऐतिहासिक जनमतसङ्ग्रह, यी सबै महत्त्वपूर्ण राजनीतिक घटनाक्रममा कोइरालाको नेतृत्वदायी भूमिका रहेको थियो । नेपाली कांग्रेसको अगुवाइमा भएको सात सालको क्रान्तिबाट नेपालमा एक शताब्दी लामो जहानिया“ राणाशासनको अन्त्य गरी नेपाल र नेपाली जनतालाई अधिकार सम्पन्न बनाउने काम कोइरालाकै अगुवाईमा भएको पाईन्छ । त्यस्तै नेपाली कांग्रेसले सञ्चालन गरेको २०१४ सालको भद्र अवज्ञा आन्दोलनको दबाबकै कारण २०१५ सालमा बालिग मताधिकारका आधारमा पहिलो आमनिर्वाचन सम्पन्न भई तत्कालीन गतिरोधको अन्त्य हुनुका साथै सो चुनावबाट नेपाली कांग्रेस दुई तिहाइ बहुमतले विजयी भई सत्ताको बागडोर सम्हाल्न पुग्यो । जुन सरकारको नेतृत्व विपि कोईरालाले नै गरेर आजका दिनसम्म पनी जनताले प्रत्यक्ष अनुभुति गर्ने गरेका धेरै जनपक्षिय कामको सुरुवात उनकै नेतृत्वमा भएको थियो ।
बिपी नेपालको इतिहासमा प्रथम जननिर्वा्चित प्रधानमन्त्री बन्न पुगे र उनकै नेतृत्वमा नेपाली कांग्रेसको सरकारले क्रान्तिकारी भूमिसुधार, किसानहरूको अधिकारको संरक्षण, जमिनको हदबन्दी, जमिनदारी प्रथा एवम् बिर्ता उन्मूलन आदि कार्यहरू गर्‍यो । बिपीकै नेतृत्वमा नेपाली कांग्रेसको सरकारले असंलग्न परराष्ट्रनीति अंगाल्नुका साथै निःशुल्क प्राथमिक शिक्षा, प्रगतिशील मजदूर नीति, समाजवादी अर्थव्यवस्था अपनाउने कार्य गर्‍यो ।  विपि नेतृत्वको उक्त सरकारले किसानहरूलाई आर्थिक सहयोग र सहुलियत दरमा ऋण, सहकारी कृषि, घरेलु उद्योगलाई प्रोत्साहन गर्नुका साथै औद्योगिकीकरणका निम्ति अनुकूल वातावरण सृजना गर्दै तथा वैदेशिक लगानीलाई प्रोत्साहन गर्ने नीति लिएको पाईन्छ तर, त्यो लोकप्रिय सरकार धेरै दिन टिक्न सकेन । तत्कालीन राजा महेन्द्रले २०१७ साल पुस १ गते प्रजातन्त्रको गला निमोठे सैन्यबलको आडमा । प्रधानमन्त्री कोइरालालाई अपदस्थ गरी उनको नेतृत्वको सरकार भङ्ग गरियो र पार्टीहरूमाथि प्रतिबन्ध लगाइयो । बिपी कोइराला, गणेशमान सिंहलगायत कांग्रेसका शीर्षस्थ नेताहरूलाई सुन्दरीजल जेल चलान गरियो ।
वि.सं. १९७१ सालमा भारतको बनारसमा जन्मेका बिपी कोइरालाको पारिवारिक पृष्ठभूमि पनि राजनीतिक चेतनाले भरिपूर्ण थियो । उनका पिता कृष्णप्रसाद कोइराला बीसौं शताब्दीको शुरुआतमै  भ निर्वासनमा जान बाध्य भएका थिए तत्कालीन राणाशासकहरूको विरोध गरेकै कारण । त्यसबखत उनको अपराध थियो राणा शासकहरूलाई एक गरीब नेपाली पुरुष र एक महिलाले लगाएका च्यातिएका दुई जोर लुगा पार्सल गरेर पठाउनु । उनको त्यस पार्सलको उद्देश्य थियो नेपाली जनताको वास्तविक स्थिति सत्ताको उन्मादमा रमाइरहेका शासकहरूले थाहा पाऊन् भन्ने । त्यसबखत राणाशासकहरू आफू भने मोजमस्तीको जिन्दगी बाँचिरहेका थिए तर, जनता भोकभोकै मरिरहेको उनीहरूका निम्ति चासोको विषय थिएन । अशिक्षा, गरीबी, भोक र रोगले पीडित नेपाली जनताको वास्तविक स्थिति राणा प्रधानमन्त्रीले थाहा पाऊन् भनी कृष्णप्रसादले त्यति शाहस देखाएकोमा उनले आफ्ना सारा सम्पत्ति त्यागेर विदेशमा शरण लिनुपरेको थियो । ६ वर्षको बालकको मानसपटलमा त्यसैबेलादेखि राणाशासनविरुद्ध आगोको ज्वाला दन्किन थालेको हुनपर्छ । जहानिया“ राणाशासनको अन्त्य गरिनुपर्छ र जहानिया शासन होएन नेपालमा पूर्ण प्रजातन्त्रको स्थापना गरिनुपर्छ भन्ने सोचले शायद त्यसै बेलादेखि बिपीको मनमष्तिस्कमा जरा गाडिसकेको थियो ।
सन् १९४० को दशकमा छिमेकी देश भारतको स्वतन्त्रता आन्दोलनमा भाग लिई जेलसमेत बसेका कोइरालाले नेपालको प्रजातान्त्रिक आन्दोलनको आँधीबेहरी ल्याउन दक्षिण एसियाबाट बेलायती साम्राज्यवाद र उपनिवेशवादको अन्त्य जरुरी थियो भन्ने कुरा राम्ररी बुझेका थिए । क्षेत्रीय भूराजनीतिक वस्तुस्थितिको सही विश्लेषण गरेर नेपालको परिस्थितिअनुरूप नया स्वरुपको राजनीतिक प्रणालीको परिकल्पना गर्न कोइराला आफ्नो तीक्ष्ण दिमागको उपयोग गर्न नचुकेको प्रष्ट हुन्छ ।

वि.सं. २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्कंदा बिपीले देशवासीका नाममा जारी गरेको सन्देशमा भनेका छन् ः हामीले प्रजातान्त्रिक पक्षमा मात्र बढी जोड दिएका थियौं । नेपाली कांग्रेसलाई आज दोहोरो जिम्मेवारी आइपरेको छ, देशको अस्तित्वको रक्षा गर्ने । यसरी राष्ट्रियताको सङ्कटको घडीमा हामी सबैले बितेका अप्रिय विवाद, अनुभव र मतभिन्नतालाई बिर्सेर एकताको सूत्रमा बाधिनुपर्छ भन्ने उनको आह्वान सो अपीलमा उल्लिखित छ । तर बिपी प्रजातन्त्रविनाको राष्ट्रवादलाई खोक्रो राष्ट्रवादको संज्ञा दिन पनि पछि पर्दैनन् । प्रजातन्त्रविनाको खोक्रो राष्ट्रियताले राष्ट्रको रक्षा गर्ने आन्तरिक मनोबल देशवासीमा पैदा गर्दैन भन्ने उनको निष्कर्ष छ । त्यसो भएमा हामी खोक्रो राष्ट्रियताको नाराबाजीमा लाग्नेछौं र अधिनायकवादीको पक्षधर हुन पुग्छौं भनी उनी सबैलाई सचेत गराएका छन ।
मेलमिलापको सिद्धान्तविपरीत सबै शक्ति आफ्नो हातमा पार्ने रणनीति अपनाउ“दा २४० वर्ष पुरानो राजतन्त्रले नेपालबाट सदाको निम्ति बिदा लिनुपर्‍यो । संविधानसभामार्फत जनताको संविधान जनता आफैले बनाउने अधिकार नेपाली जनताले ६०—६५ वर्ष लामो सङ्घर्षको प्रतिफलस्वरूप आएको हो । नेपाली कांग्रेसले पनि २०१४ सालमा सत्याग्रह गरेको संविधानसभाकै निम्ति थियो । तर, परिस्थिति अनुकूल नभइदिदा त्यो कार्य अधुरो रहन गएको थियो । संविधानसभाबाट संविधान बनाउनुपर्ने विचारप्रति बिपीमा तिव्र प्रतिवद्धता रहेको थियो ।  संविधानसभाको चुनावको कुरा बिपीले आजभन्दा ६ दशकअगाडि नै उठान गरेका हुन्

बिपी एक आदर्शवादी राजनेता थिए । उनी राजनीतिक दाउपेचमा भन्दा राजनीतिक मूल्य, मान्यता र आदर्शमा विश्वास गर्दथे । उनी राजनीतिलाई स्वस्थ र स्वच्छ रूपमा अपनाउन चाहन्थे । सायद त्यसैले होला बिपी व्यावहारिक राजनीतिमा त्यति सफल हुन सकेनन् र उनको जीवनको अधिकांश समय तानाशाही शासन व्यवस्थाविरुद्ध लड्दालड्दै बित्यो। उनले न त तानाशाही शासकहरूसग सम्झौता गरकोे न त अतिवादीहरूसग नै हात मिलाएको ईतिहाँस छ ।

२०३३ सालमा स्वदेश फर्कंदा उनका विरुकद्ध राजद्रोहका विभिन्न मुद्दा लागेका थिए । सो मुद्दाहरूका सम्बन्धमा अदालतमा बयान दिने क्रममा बिपीले कांग्रेसको नाममा भएका सशस्त्र विद्रोहलगायतका सम्पूर्ण गतिविधिहरूको जिम्मा निसङ्कोच आफूले लिएका थिए । अदालती बयानका क्रममा बिपीले एकपटक भनेका थिए, मेरो जनक्रान्तिको आह्वानबाट कसैले हतियार सङ्कलन गर्न थालेका छन् वा गरेका रहेछन् भने त्यसका लागि मेरो नैतिक जिम्मेवारी रहन्छ । त्यस्तै अर्को एक बयानका क्रममा पञ्चायती व्यवस्थाविरुद्ध हतियार उठाई सत्ता पल्टाउने आरोपमा बयान लिइदा बिपीले भनेका थिए, ‘अहिलेको व्यवस्था अप्रजातान्त्रिक भएकाले त्यस व्यवस्थाको ठाउ“मा प्रजातान्त्रिक व्यवस्था स्थापना गर्ने कांग्रेसको उद्देश्य रहेको छ । तर, यस व्यवस्थाको ठाउमा नेपाली कांग्रेसको सरकार स्थापना गर्ने सङ्घर्ष गर्नुपर्छ भनी मैले कहिल्यै भनेको छैन ।’
तसर्थ दुरदर्शि राजनेता विपि कोईरालाका अनुयायी हामीहरु विपि कोईरालाले अगाडी सारेका समाजवादी सोच चिन्तन र व्यवहारलाई आत्मसात र अवलम्बन कति गरेका छौ र विपि देखेका नेपाली समाजको सपना र उहाले कोरेको मार्ग चित्रमा नेपाली काँग्रेस हिडिरहेको छ या छैन यो अहं प्रश्न हो  । प्रजातन्त्र ,समाजबाद,राष्ट्रिय एकता तथा मेलमिलाप जस्ता बहुआयामिक बिचारधाराका प्रबर्द्धक ,नेपालको प्रथम जननिर्वा्चित प्रधानमन्त्री एवम् महामानव वि.पि कोइरालाको १०३ औं जन्मजयन्ती को अवसरमा उहाप्रति श्रद्धा सम्मान छ ।

(लेखक तारक प्रतिभा केसी नेविसंघका निवर्तमान केन्द्रीय सदस्य हुन )

Recent Update