April 17, 2021, Saturday
२०७८ बैशाख ४

बिरुवा खरिद र बितरणमा अनियमितता भएको भन्दै आगजनीे

672

सरकारी खर्चमा वितरण गरिएका फलफुलका बिरुवा खरिद र बितरणमा अनियमितता भएको भन्दै किसानहरुले बिरोध स्वरुप फलफुलका बेर्नमा आगजनी गरेर नष्ट गरेका छन् । रुकुम पश्चिमकाे चौरजहारी नगरपालिका वडा नम्बर ५ का किसानहरुले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत खरिद गरिएका आँपका विरुवाहरु जलाएर नष्ट गरेका हुन् । उक्त परियोजना बाट नगरपालिकाकाे चार,पाँचर १० वडामा बिरुवा वितरण गर्ने कार्यक्रम थियो ।

परियोजना अन्तर्गत गठित फलफुल ब्लक सञ्चालक समितिले खरिद गरी वितरण गरेका बिरुवाहरु माग संख्या भन्दा अति न्यून, कमसल,सुकेका , उम्रने क्षमता नभएका विरुवा भन्दै वडाका किसानहरुले जलाएर नष्ट गरेका हुन। स्थानीय सागर घर्तिले थोरै मात्रामा ल्याएका विरुवा बिचबाट भाँचिएको, राम्रोसँग कलमी नगरिएको, जरा छिनेको, उम्रने क्षमता नभएको विरुवा गाउँमा बाँड्न खोजिएको बताए ।


करिब ८० घरधुरी रहेका वडा नम्बर ५ को मल्यासिमल टोलवासीहरुले यस अघि एक एक ओटा कागती, अलैची र लिचिका बिरुवा पाएको बताएका छन् । ‘हामीले हाम्रो टोलमा माग गरेको ६ सय ओटा विरुवा हुन्, तर ५० ओटा मात्र ल्याएर आँखामा छारो हाल्न खोजे’, नाम नलेख्ने शर्तमा अर्का एक किसानले भने, ‘जति गुनासो र बिरोध गरेपनि कतैबाट सुनुवाई भएन, बाध्य भएर नष्ट गर्नुपर्यो ।’
वडा नम्बर ५ का वडाअध्यक्ष उदे खत्रीले कम बेर्न आए भनेर आक्रोशित भएकाहरुले करिब ५०, ६० ओटा विरुवा जलाएको बताए । ‘बेर्न लगाउनलाई करिब ६ सय खाडल खनेर तयारी गरेका स्थानीयले बेर्न कम आएको भन्दै आक्रोशित भएका थिए,’ वडाअध्यक्ष खत्रीले भने, ‘नष्ट गर्नुहुँदैन, ब्लक समितिसँग कुरा गरौला भन्दा भन्दै आफु नभएको बेला जलाइदिएछन् ।’

आर्थिक वर्ष ०७६÷०७७ मा कृषि विकास कार्यालय रुकुम पश्चिमको स्विकृत कार्यक्रम अन्तर्गत प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाबाट कार्यान्वयन हुने गरी उक्त कार्यक्रम सञ्चालन भएको थियो ।

परियोजनाले स्थानीयको सहभागीतामा फलफूल ब्लक सञ्चालक समिति चौरजहारी रुकुम पश्चिम बनाई सोहि समिति मार्फत किसान छनौट, खरिद र वितरणको काम गरेको कृषि विकास कार्यालय रुकुम पश्चिमका बागवानी विकास अधिकृत मिनबहादुर के.सी.ले बताए । रु.५० लाखमा सम्झौता भएको र ४९ लाख मात्र भुुक्तानी गरिएको उनले बताए ।चौरजहारी नगरपालिकाको वडा नं ४, ५ र १० मा लक्षित गरी ४८ हजार ४ सय फलफुलका विरुवा बाँडिएको फलफूल ब्लक सञ्चालक समिति चौरजहारी रुकुम पश्चिम संयोजक सन्तोष शर्माले बताए ।

कृषि विकास कार्यालयसँगको सम्झौता बमोजिम किसानको माग, जग्गाको तयारी, भौगोलिक उपयुक्तता र बजेटको सीमालाई आधार बनाई विभिन्न जातका फलफूलका विरुवा वितरण गरिएको समितिले उल्लेख गरेको छ ।समितिले सम्झौताको रकम मध्ये २९ लाख एकाउन्न हजार ९ सय पचासको बेर्न खरिद, एक लाख ८० हजारको ढुवानी र सिँचाईको लागि १८ लाख ६८ हजार रकम खर्च गरिएको बताएको छ । खरिद गरिएका विरुवाहरुमा आँप, लिचि, कागती, अनार र सुन्तला रहेका छन् ।

किसानहरुले फलफुल खरिद तथा वितरण कार्यमा फलफुल ब्लक सन्चालन समिति, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई दोषी रहेको आरोप समेत लगाएका छन् । किसानहरुले फलफुल ब्लकको कार्यबिधी र खरिद भएका भनिएका ४८ हजार चार सय बिरुवाको खरिद बिल सार्वजनिक गर्न माग गरेका छन् ।