June 23, 2021, Wednesday
२०७८ असार ९

पर्सामा ३२ जनामा कोरोना संक्रमण पुष्टि

123

वीरगञ्ज – पर्सामा ५ जना थुनुवासहित ३२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो ।

संक्रमित हुनेमा वडा प्रहरी कार्यालय श्रीपुरको थुनुवा कक्षमा रहेका २५, २२, ३३, २२ र ४७ वर्षका ५ जना थुनुवा पनि छन् । उनीहरु मध्ये चार जना भारतीय नागरिक हुन् ।

अन्य संक्रमितमध्ये केही कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् भने केही आफैं शंका लागेर जाँच गराएको र केही पेड पीसीआर गराउनेहरु छन् । उनीहरु सबैलाई अस्पतालमा ल्याउने तयारी भइरहेको गण्डक कोभिड अस्पतालका कोअर्डिनेटर डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।

साउन ६ गते कोरोना संक्रमण पुष्टि भएका नारायणी अस्पतालका स्वीपरको २३ बर्षीय छोरामा कोरोना देखिएको छ ।

यसअघि उनको दुई जना छोरीमा पनि कोरोना देखिएको थियो । उनकै कन्ट्याक्ट ट्रेसिङमा परेका नारायणी अस्पतालको क्वाटरमा बस्दै आएका ३५ बर्षिय अर्का पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।