November 30, 2020, Monday
२०७७ मंसिर १५

ओली र दाहालबीच बन्‍न लागेको सहमति कसरी भत्कियो ?

219

काठमाडौँ । स्थायी कमिटी बैठक साउन ६ गते स्थगित हुनुअघि गत मंसिर ४ मा भएको सहमति कार्यान्वयन गरेर अघि बढ्ने अडानबाट प्रधानमन्त्री केपी शर्मा ओली पछि हट्ने र आलोपालो सरकार चलाउने ०७५ जेठ २ को सहमति मान्नुपर्छ भन्ने अडानबाट अध्यक्ष पुष्पकमल दाहाल पछि हटेर मिलनबिन्दु खोज्ने समझदारी बनेको थियो ।

सहमति गर्न भनेर स्थायी कमिटी बैठक स्थगित गरिएको साता दिनमा अध्यक्षद्वयबीच एकपटक मात्रै कुरा भएको छ । दोस्रो तहका नेताहरुको दौडधुप व्यापक चलिरहेको छ तर परिणाम सन्तोषजनक छैन ।

दुवै अध्यक्षलाई नयाँ शिराबाट सहमति खोज्नुपर्छ भनेर महासचिव विष्णु पौडेल तथा स्थायी कमिटी सदस्यहरू शंकर पोखरेल, जनार्दन शर्मा र वर्षमान पुनले ‘कन्भिन्स’ गराइसकेका थिए । त्यतिखेर दुवै पक्षका नेताहरूले दुई अध्यक्षबीच सहमति अन्तिम चरणमा पुगेको र त्यसलाई थप प्रस्ट पार्न केही दिन चाहिने बताएका थिए । त्यसैले साउन १३ गतेसम्म स्थायी कमिटी बैठक रोकेर बीचमा संवाद अघि बढाउने समझदारी बन्यो ।

समझदारी खोज्न भन्दै ९ गते ओली र दाहालबीच बालुवाटारमा भएको एक घण्टा लामो भेट भने हार्दिकतापूर्ण रहेन । यसअघि मिल्न–मिल्न लाग्यो भनिएको स्थितिभन्दा ठीक विपरीततर्फ उनीहरू गए । त्यसैले स्थगित स्थायी कमिटीको बैठक गर्ने समय आइसक्दा पनि सहमतिको ठोस खाका आएको छैन । बरु दुई अध्यक्षबीच दूरी झन् बढेको छ, संवाद पातलिएको छ ।

९ गतेको भेट तिक्ततापूर्ण भएपछि अध्यक्षद्वयबीच थप संवाद भएको छैन । त्यसअघि साउन ४ गते साँझ भएको छलफलमा अध्यक्ष दाहालले ओलीलाई भेटेर ‘हिजो जे–जे भयो, जसो भयो, अब म पछाडि फर्किएँ ’ भनेका थिए । दाहालले ‘म पाँच महिनापछि महाधिवेशन हुन्छ र तपाईंले एकल अध्यक्षमा समर्थन गर्नु हुन्छ भन्नेमा विश्वस्त छैन, म नेपाल समूहसँगै छु’ भनेपछि ओली र दाहालका बीचमा ‘बन्नै लागेको’ सहमति भत्किएको

संकेत बालुवाटारलाई मिलेको थियो । ‘त्यसपछि अध्यक्षद्वय पूर्व–पश्चिम भएका छन्, संवादका लागि गरिएको पहल सफल हुन सकेको छैन,’ बालुवाटार स्रोतले कान्तिपुरसँग भन्यो । त्यही बेला माधव नेपाल र झलनाथ खनाल पक्षीय नेताहरूको भेलाले दाहाललाई महाधिवेशनसम्मै साथ दिने निचोड निकाल्यो ।

दाहाल र ओलीबीचको पछिल्लो संवाद कति तिक्ततापूर्ण रूपमा सकियो भन्ने उदाहरणका लागि ९ गते पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा दाहालले गरेको भाषणमै छनक पाइन्छ । ओलीसँग भेटेर सोझै कार्यक्रममा पुगेका दाहालले पार्टी गम्भीर संकटमा रहेको बताएका थिए । ‘मैले सार्वजनिक रूपमा पहिले पनि भनेको छु, पार्टी संकटमा छ । ठीकठाक छ भनेर मैले भनें भने त्यो सत्य हुँदैन । त्यो साँचो होइन । किनकि हाम्रो पार्टीको बैठक चलिरहेको समयमा निर्वाचन आयोगमा नेकपा एमाले नामको अर्को पार्टी दर्ताको प्रक्रिया हाम्रो पार्टीका अर्का अध्यक्षको पहल र सक्रियतामा भएको छ । त्यसले संकटलाई व्यक्त गरेकै छ, यो सबैले देखेकै कुरा हो,’ उनले उक्त कार्यक्रममा भनेका थिए ।

एक नेताले कान्तिपुरसँग भने, ‘अनुमान गर्नुस् न, प्रधानमन्त्रीलाई भेटेर आउनेबित्तिकै अर्का अध्यक्ष दाहालले यस्तो कुरा किन गर्नुभयो ? त्यसपछि ओली र दाहालका बीचमा किन संवाद भइरहेको छैन ?’ त्यसो भए ओली र दाहालका बीचमा लगभग मिलेर पनि भाँडिएको सहमति के थियो त ? स्रोतले कान्तिपुरसँग भन्यो, ‘३ गते नेकपाको सचिवालय बैठक बस्नुअघि अध्यक्षद्वयबीच दुई किसिमको सहमति भएको थियो, एउटा लुकाउनका लागि र अर्को देखाउन ।’

Recent Update