November 29, 2020, Sunday
२०७७ मंसिर १४

आन्तरिक र बाह्य दुवै हवाई सेवा सुरु गर्ने तीव्र तयारी

183

काठमाडौं  – हवाई सेवा भदौ १ गतेदेखि पुनः सुरु हुने भएको छ। सरकारले कोभिड १९ महामारीको जोखिमलाई ध्यानमा राख्दै विभिन्न मापदण्ड निर्धारण गरी आन्तरिक र बाह्य दुवै हवाई सेवा सुरु गर्न लागेको हो। यसका लागि सरकारले आन्तरिक गृहकार्यमा तीव्रता दिएको छ।

कोभिड १९ को महामारीका कारण सरकारले गरेको बन्दाबन्दी अन्त्यसँगै झण्डै ५ महिनापछि हवाई सेवा सञ्चालनमा आउन लागेको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान व्यवस्थापन, उडान अवधि, यात्रु र विमानको स्वास्थ्य सुरक्षा व्यवस्थापनलगायत विषयमा तयारी थालेको छ। प्राधिकरणका महानिर्देशक राजन पोखरेलले भदौ १ गतेदेखि आन्तरिक र बाह्य उडान गर्ने तयारी रहेको जानकारी दिए। तर आन्तरिक वायुसेवा सञ्चालक सकेसम्म साउनमै उडान थाल्न सरकारसँग आग्रह गरिरहेका छन्।

बाढीपहिरोका कारण अधिकांश जिल्लाको सडक मार्ग अवरुद्ध भएको, उपत्यका जोड्ने प्रमुख सडक खण्डसमेत क्षतिग्रस्त भएको भन्दै आन्तरिक वायुसेवा कम्पनीले साउनमै उडान अनुमतिका लागि सरकारसँग माग गरिरहेका छन्। प्राधिकरणले भने भदौ १ अघि उडान गर्न नसकिने जनाएको छ।

पोखरेलका अनुसार यसअघि नै जारी गरेको स्वास्थ्य र उडान सुरक्षासम्बन्धी मापदण्डका आधारमा सेवा सुरु गर्न लागिएको हो। भदौै १ गतेदेखि उडान गर्ने विषयमा सुझाव दिन प्राधिकरणले कार्यदल पनि गठन गरेको थियो। कार्यदलले आन्तरिक उडानका विषयमा दिएको सुझावका आधारमा थप गृहकार्य गरी उडान गर्न लागिएको छ।

Recent Update