October 21, 2020, Wednesday
२०७७ कार्तिक ५

कालापानी क्षेत्रका सुरक्षामा भारतकाे कडाइ, नेपालले जवाफी पत्रमार्फत भन्यो – ‘नेपालीलाई दुःख नदिनु’

159

भारतले नेपाली भूमि लिपूलेक, कालापानी र लिम्पीयाधुरा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । केहीदिन अघि मात्रै भारतले कालापानी, लिम्पीयाधुरा लगायत नेपालसँग विवादित भूमि आफ्नो दावी गर्दै सो क्षेत्रमा नेपालीहरू नपठाउन नेपाललाई आग्रह गरेको थियो ।

त्यसकाे केही समयपछि सो क्षेत्रमा भारतले बिगतका भन्दा कडा सुरक्षा व्यवस्था पार्दै सीमामा भारतीय सुरक्षाबल एसएसबीको संख्या बढाएको स्थानीय बताउछन् । अहिले भारतले दार्चुलाकाे कालापानीसहित प्रत्येक संवेदनशील क्षेत्रमा ३ देखि ५ किलोमिटरको दुरीमा सुरक्षा पाेष्ट राखेको स्थानीयकाे भनाइ छ । केही दिनअघि मात्रै सशस्त्र क्याम्प छाङ्ग्रुबाट कालापानी क्षेत्रमा गस्तीका लागि गएको सशस्त्रलाई भारतीय सीमा सुरक्षाबल एसएसबीले ३ किलोमिटर ओरैबाट फर्काइदिएको स्थानीय जनप्रतिनिधीहरूकाे भनाइ छ ।

भारतले लकडाउनको अवसर पारेर नेपाली भूमि हुँदै मानसरोबार जाने बाटो उद्घाटन गरेपछि नेपाल सरकारले पनि सो क्षेत्रसहित समेटिएको नेपालको आधिकारिक नक्सा छापेको थियो । तर नेपाल सरकारले औपचारिक वार्ता गर्न सकेको छैन । नेपाल सरकारको तर्फबाट विवादित भूमिको केही किलोमिटर यता छाङ्ग्रु भन्ने ठाउँमा सशस्त्र बेश क्याम्प भने खडा गरेको छ । त्यस्तै नेपाली सेनाले दार्चुला टिंकर सडक योजना बनाएर उत्तरी तर्फ रहेको ८७ कि.मि सडकखण्ड नेपाली सेना मार्फत निर्माण भइरहेको छ । असार ३ गते नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल कालापानी क्षेत्रको अनुगमन गरेर फर्किनु भएको थियो ।

सो क्षेत्रमा सशस्त्र प्रहरी निरीक्षक लिलिबहादुर चन्दको कमाण्डमा २५ सशस्त्र प्रहरी खटाइएको छ । त्यसअघि नेपाली सेनाको हेलिकप्टरबाट दुई पटक गरेर सशस्त्र प्रहरी, नेपाल प्रहरी र बिओपीका लाग चाहिने सामान छाङ्ग्रु पुर्‍याएको थियो । सोही टोलीले कालापानी क्षेत्रमा गस्ती गर्दै आएको थियो । तर अहिले भारती सीमा सुरक्षा बलले उनीहरुलाई सीमा क्षेत्रमा निर्वाद रूपमा गस्ती गर्न दिईरहेको छैन ।

भारतले केहिदिन अघि मात्रै कालापानी क्षेत्रमा नेपालीहरुलाई अवताजावतमा प्रतिबन्ध लगाएको छ । उसले दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई कुटनीतिक नोट पठाउदै सो क्षेत्रमा नोपालीलाई आवतजावतमा रोक लागाउन भनेको थियो । हालै भारतलाइ जिल्ला प्रसाशन कार्यालय दार्चुलाले लिम्पियाधुरा र लिपुलेक क्षेत्र नेपालको भएको र त्यहाँ आफ्ना जनता निर्वाधरुपमा आवतजावत गर्न कसैले पनि रोक्न नसक्ने र घुमाउरो पारामा भारतले यसलाई आपत्ति जनाउनुपर्ने अवस्था नरहेको जवाफ दिएकाे छ ।

भारतलाई नेपालले पठायो जवाफी पत्र – नेपालीलाई दुःख नदिनु

जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतको सीमावर्ती धार्चुलाका जिल्ला अधिकारीलाई पत्र लेखेर भारतले दाबी गरेको क्षेत्र नेपालको भएकोले नेपालीलाई दुःख नदिन भनेको भनेको छ । 

गृह मन्त्रालयको निर्देशनपछि मंगलबार धार्चुलाका जिल्ला अधिकारीलाई जवाफी पत्र पठाइएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिनुभयो । ‘भारतले पत्रमार्फत दाबी गरेको भूमि नेपालको भएकाले नेपालीलाई बाधा, अड्चन नगर्न भन्दै पत्र पठाइएको हो’ उहाँले भन्नुभयो । 

पत्रमा सुगौली सन्धी तथा त्यस समयमा प्रकाशित नक्साहरू र ऐतिहासिक तथ्य–प्रमाणबाट लिम्पियाधुरा, नाबी, कुटी, गुन्जी, लिपुलेक, कालापानीलगायत क्षेत्र नेपालको भूभाग रहेको भन्ने प्रष्ट भएकाले यी नेपाली भूभागहरूमा नेपालीको आवतजावत स्वाभाविक नै रहेको हुँदा बाधा–अड्चन नगर्न भनिएको छ । 

यसअघि गएको असार ३० गते भारतको धार्चुला प्रशासनले कालापानी, लिम्पियाधुरा लगायत क्षेत्रमा नेपालीहरु अवैध रुपमा चोरी–छिपी रहेको भन्दै ती क्षेत्रमा नेपालीको प्रवेश रोक्न पत्र पठाएको थियो । पत्रमा भनिएको थियो, ‘भारतीय क्षेत्र गुन्जी, लिपुलेक र लिम्पियाधुरामा नेपाली गुट र समूह अवैध रूपमा चोरी–छिपी सीमा पार गर्ने कोशिस गरिरहेको हामीलाई विशिष्ट सूत्रबाट जानकारी मिलेको छ ।

मिडियाको ध्यानाकृष्ट गर्न र दुवै देशलाई समस्यामा पार्न यस्तो प्रयास भइरहेको छ । त्यसैले तपाईंको स्तरमा त्यस्तो कुनै पनि जानकारी प्राप्त भएमा तुरुन्त हामीलाई खबर गर्नुहुन अनुरोध छ ।’ 

भारतको यो पत्रको जवाफमा दार्चुला प्रशासनले लिम्पियाधुरा, नाबी, कुटी, गुन्जी, लिपुलेक, कालापानीलगायत क्षेत्र नेपालकै भएको स्मरण गराएको हो । 

Recent Update