March 1, 2021, Monday
२०७७ फाल्गुन १७

कैलालीमा एक सय बढी घर डुबानमा

148

कैलाली – कैलालीमा वर्षासँगै आएको बाढी गाउँ पसेपछि एक सय बढी घर डुबानमा परेका छन ।

कान्द्रा, काडा र पथरैया नदीमा पानीको बहाव बढेपछि कैलालीको भजनी र जोशीपुरका विभिन्न बस्ती डुबानमा परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीकाअनुसार जोशीपुरमा काडा नदी गाउँ पसेपछि २५ घर डुबानमा परेका छन । उनीहरुलाई सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिनुभयो । यस्तै पथरैया नदी गाउँ पसेपछि जोशीपुरकै ८ घर डुबानमा परेका छन ।

काडा नदीमा आएको बाढी गाउँ पसेपछि भजनी नगरपालिकाका ६० बढी घर डुबानमा परेका प्रहरी नायब उपरीक्षक विष्टले बताउनु भयो । कान्द्रा नदीमा आएको बाढीले पनि भजनीकै १६ घर डुबानमा परेका छन् । घरमा पानी पसेपछि स्थानीयलाई सुरक्षित ठाउँमा सारिएको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिनु भयो । घरमा पानी पसेपछि घरमा रहेकाे अन्नपात र  लत्ताकपडा भिजेर नष्ट भएकाे स्थानीय बासिन्दाले बताएका छन् । 

भजनी र जोशीपुर डुबानमा परेपछि स्थानीय पालिकाले बाढीको जोखिम बढेमा नागरिकलाई राहत तथा उद्धारका लागि कहाँ राख्ने भन्ने तयारी थालेका छन । भजनीले जोखिमबाट बच्न पूर्वतयारी स्वरुप उद्धार टोली तयारी अवस्थामा राखेको नगरपालिकाले जनाएको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेकाले सुदूरपश्चिमका अधिकांश क्षेत्रमा वर्षा भइरहेको छ ।