September 19, 2021, Sunday
२०७८ आश्विन ३

मेरो छोरा समीर सिंहको लेख, बाबा खिमविक्रम र छोरा मोहनविक्रम

500

माेहन विक्रम सिंह

अन्तरसम्बन्ध र अन्तर सङ्घर्षको अन्तर कथा’ पढे पछि मेरो मनमा ‘अन्तरसम्बन्ध र अन्तरसङ्घर्षको अन्तर कथा’ लेख्ने विचार उठिरहेको छ । तर मैले भन्न सक्दिन, मैले त्यो लेख कहिलेसम्म लेख्न सक्ने छु ।मेरो पिताजी खिमविक्रमसित मेरो अन्तरसम्बन्ध र अन्तरसङ्घर्षको कथाबारे समीरको लेखमा केही उल्लेख गरिएको छ । तर मेरो जीवनमा त्यस प्रकारका अन्तरसम्बन्ध र अन्तरसङ्घर्षका थुप्रै कथाहरू छन् । त्यस प्रकारका कथाहरू एकातिर, परिवारका अन्य कैयौँ सदस्यहरूसित जोडिएका छन् भने, अर्कातिर, पार्टीसित जोडिएका कैयौँ साथीहरूसित पनि सम्बन्धित छन् ।

मेरो परिवारका व्यक्तिहरूमध्येे मेरी आमा ताराकुमारी, बहिनी श्याम कुमारी, दाजी लेटरविक्रम आदिसित जोडिएका त्यस प्रकारका कैयौँ प्रसङ्गहरू छन् ।पार्टीका साथीहरूमध्येे क. कमलराज रेग्मी र क. निर्मल लामासित जोडिएका अन्तरसम्बन्ध र अन्तरसङ्घर्षका प्रसङ्गहरू विशेष रूपले उल्लेखनीय छन् । पार्टीका त्यस प्रकारका अरू पनि थुप्रै साथीहरू हुनुहुन्छ, जोसित मेरो धेरै नै घनिष्ट सम्बन्ध भयो, तर जोसित धेरै नै अन्तरसङ्घर्षको स्थिति पनि पैदा भयो ।
त्यस सिलसिलामा क. खगुलाल गुरुङ र क. चित्रबहादुर के.सी.सितका अन्तरसम्बन्ध र अन्तरसङ्घर्षका प्रसङ्गहरूको पनि चर्चा नगरिकन रहन सकिन्न । क. के.सी. सित सुरुदेखि अहिलेसम्म अन्तरसङ्घर्ष भन्दा अन्तरसम्बन्धको पक्ष नै प्रधान रहेको छ । तर त्यसका साथै कतिपयपल्ट उहाँसित तीव्र अन्तरसङ्घर्षको अवस्थामा पनि देखापर्ने गरेको छ ।
जहाँसम्म क. खगुलाल गुरुङको प्रश्न छ, मेरो पार्टी जीवनमा सबै भन्दा लामो सम्बन्ध रहेको उहाँसित नै हो । २००७ सालदेखि अहिलेसम्म, करिब ७० वर्षसम्म, उहाँसँग मेरो लगातार र घनिष्ठ सम्बन्ध रहँदै आएको छ । पहिले हामीले जिल्ला पार्टीको निर्माण र किसान सङ्घर्षहरूमा सँगै काम गर्‍यौँ । उहाँले र मैले विभिन्न जेलहरूमा डेढ वर्षसम्म सँगै जेलमा बितायौँ । २०१७ सालसम्म पनि हाम्रो त्यो सक्रिय सम्बन्ध रहिरह्यो । त्यस पछि मेरो जेल जीवन तथा भूमिगत जीवनका कारणले उहाँसितको प्रत्यक्ष र सक्रिय सम्बन्धमा केही कमी आयो, तैपनि उहाँ शारीरिक रूपले कमजाेर नहुँदासम्म जिल्लाका पार्टीका काम वा राजनीतिक गतिविधिहरूमा हाम्रा बिचमा लगातार सम्बन्ध बनिरह्यो । अब उहाँ शारीरिक रूपले कमजोर हुनुभएको छ । तैपनि २००७ सालदेखि उहाँसँग कायम भएको सम्बन्धको कडि अहिलेसम्म पनि कायम छ । उहाँ नै पार्टीको एउटा यस्तो साथी हुनुहुन्छ, जोसँग मेरो सम्बन्धमा कहिल्यै पनि अन्तरसङ्घर्षको स्थिति उत्पन्न भएन ।
यो प्रसङ्गमा क. जलजला र क. दुर्गासितको अन्तरसम्बन्धको पक्षलाई पनि उल्लेख नगरिकन म रहन सक्दिन । उनीहरूसित मेरो लामो सम्बन्ध रहेको छ । त्यो सम्बन्धको कथामा अन्तरसम्बन्धको पक्ष नै प्रधान छ र त्यसमा अन्तरसङ्घर्षको पक्ष अत्यन्त कम छ । तैपनि ती दुवै जनाको धेरै नै कडा स्वभावका कारणले हाम्रा बिचमा कतिपय बेला, यद्यपि सामान्य र गौण महत्त्वका, अन्तरसङ्घर्षका अवस्थाहरू पनि उत्पन्न हुने गरेको कुरालाई पूरै अस्वीकार गर्न सकिन्न ।
त्यस सिलसिलामा शान्तासितको अन्तरसम्बन्ध र अन्तरसङ्घर्षको पक्षलाई पनि उल्लेख नगरिकन रहनु उचित हुने छैन । उनीसितको सम्बन्धमा अन्तरसङ्घर्षको पक्ष नै प्रधान हुन गयो र, जसको परिणामस्वरूप, हामीहरू एकअर्काबाट अलग हुन पुग्यौँ । तर सायद उनीसितको अन्तरसङ्घर्षको कथालाई मैले कहिल्यै पनि लेख्न सक्ने छैन र त्यसो गर्नु उचित पनि हुने छैन ।


मलाई लाग्दछ त्यस प्रकारका अन्तरसम्बन्ध र अन्तरसङ्घर्षका कथाहरू लेख्ने हो भने एउटा सिङ्गै पुस्तक तयार हुने छ । मुख्यतः बहिनी श्याम कुमारी र सामान्यतः आमा तारा कुमारीसित भएको अन्तरसङ्घर्षबारे मेरो अप्रकाशित पुस्तिका ‘आमाको मृत्यु–वा हत्या ?’ पुस्तिकाको समीरको लेखमा उल्लेख भइसकेको छ । अनुकूल अवस्थामा मैले त्यसलाई प्रकाशित गर्ने पनि विचार गरेको छु । त्यस सन्दर्भमा यो उल्लेख गर्नु पनि सायद अप्रासाङ्गिक हुने छैन कि त्यस प्रकारको अन्तरसङ्घर्षको अवस्थाले नै बहिनी श्यामकुमारीसित मेरो १२ वर्षजति भेटघाट र आवतजावत नै बन्द भएको थियो र उनी सिकिस्त बिरामी भएको थाहा पाए पछि नै म उनलाई भेट्न र उनीसित भाइटिकाको टिका लगाउन पनि गएको थिए । तर त्यस पछि छिटै उनको दुःखद मृत्युका कारणले त्यो टिको उनीसितको अन्तिम टिको सावित भयो । उक्त पुस्तिका बाहेक अब मैले विभिन्न अन्तरसम्बन्ध र अन्तरसङ्घर्षबारे कुनै बेग्लै किताब लेख्नका लागि समय दिन सक्नेछ जस्तो लाग्दैन । तैपनि त्यो विषयमा एउटा लेख लेख्न सकेमा – तर शान्ताको प्रसङ्गलाई छाडेर– मैले आफ्नो मनभित्र दबेर बसेका अन्तरसम्बन्ध र अन्तरसङ्घर्षका कथाहरू बाहिर ल्याउन सक्ने छु र त्यसका लागि मलाई धेरै नै खुसी लाग्ने छ ।
जेहोस्, समीरले पिताजीसितको अन्तरसम्बन्ध र अन्तरसङ्घर्षको कथालाई, यद्यपि त्यो अत्यन्त सङ्क्षिप्त छ र त्यसमा सबै पक्षहरू सामेल हुन सकेका छैनन्, बाहिर ल्याएर राम्रो काम गरेको छ । जेलमा बस्दा मैले “पिताजी खिमविक्रम” भनेर एउटा पुस्तक नै लेखेको थिएँ । तर त्यो कतै हरायो र अहिले उपलब्ध छैन । त्यो पुस्तकमा मैले उहाँका सामन्ती शोषणहरूको वर्गविश्लेषण, आमाहरूमाथि उहाँले गरेका अन्याय र अत्याचार तथा व्यक्तिगत रूपमा उहाँसितको मेरो सङ्घर्ष र आत्मीय सम्बन्ध समेतमाथि प्रकाश हाल्ने प्रयत्न गरेको थिएँ । त्यो पुस्तकको एउटा परिच्छेद चार दशकको दोस्रो भागमा प्रकाशित भएको हुनाले मात्र अब बाँकी छ ।

(माेहन बिक्रम सिंहले आफ्नो फेसबुक सामाजिक सञ्जाल मा व्यक्त गरेको धारणा सान्दर्भिक लागेर हामीले प्रकाशित गरेका हाै ) सम्पादक