July 27, 2021, Tuesday
२०७८ श्रावण १२

उपलव्धि देखिने गरी काम गर्न मुख्यमन्त्रीको निर्देशन

104

बुटवल– प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले उपलब्धिका सूचकहरू देखिने गरी बजेट खर्च गर्न निर्देशन दिएका छन् ।

प्रदेश विकास समस्या समाधान समितिको बैठक तथा वार्षिक प्रगति समीक्षा कार्यक्रममा मन्त्रालयहरूको प्रस्तुतिपछि उनले नतिजामुखी र उपलब्धिका सूचकहरू देखिने गरी बजेट खर्च निर्देशन दिएका हुन् । उनले भने ‘बजेट खर्च भएपछि के उपलब्धि भयो भन्ने प्रष्ट देखिनुपर्छ, नागरिकले परिवर्तनको अनुभूति गर्न पाउनुपर्छ ।

कोभिड–१९ ले सिर्जना गरेको असहज परिस्थितिका बाबजुद गत आर्थिक वर्ष २०७६/७७ मा प्रदेश सरकारको पूँजीगत खर्च ७९ दशमलव २९ प्रतिशत भएको जनाइएको छ । सिँचाइ र खानेपानीको दिगो व्यवस्थापनका लागि चुरे र भावर क्षेत्रमा जलाशय निर्माणलाई प्राथमिकता दिएर अघि बढ्न मुख्यन्त्री पोखरेलले निर्देशन दिए । उनले भने, ‘ठूला खालका जलाशय निर्माण, गरौँ, त्यस्ता क्षेत्रको पहिचान गरी योजना अघि बढौँ, ती आयोजनाले नतिजा दिन्छन् ।’

सेवा प्रवाह छिटो र छरितो बनाउन र नागरिकको विश्वास जित्न प्रविधिको प्रयोग ध्यान दिएर अघि बढ्न पनि मुख्यमन्त्रीले पोखरेलले निर्देशन दिए ।

नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने कार्यालयहरूले सेवा प्रवाह व्यवस्थित बनाउन उनको निर्देशन छ । उनले कपिलवस्तु र अर्घाखाँचीका लागि कपिलवस्तुमा कार्यालय स्थापना गरी काम गर्न सके बुटवल कार्यालयको चाप घटाउन बताए ।

कार्यसम्पादन मूल्यांकनका आधारमा कर्मचारी हेरफेरको काम भदौभित्र गरिसक्न मुख्यमन्त्रीले निर्देशन दिए । रिक्त दरबन्दीमध्ये अत्यावश्यक र प्राविधिक जनशक्तिको सूची तयार गरी पूर्तिका लागि प्रदेश लोकसेवा आयोगलाई बुझाउन पनि उनको निर्देशन छ ।

मुख्यमन्त्री पोखरेलले कोभिड–१९को दोस्रो चरण आएको भन्दै भारतको अवस्थाको समेत विश्लेषण गरेर योजना र कार्यक्रम अघि बढाउन सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिए । दोस्रो चरणमा लक्षणसहितका बिरामीको संख्या बढेकाले अस्पतालमा आइसियुको क्षमता बढाउनुपर्ने उनको भनाइ छ ।