October 24, 2020, Saturday
२०७७ कार्तिक ८

गाउँपालिकाको २५ लाख दुरुपयोग गर्नेेहरु सिडिओकाे आदेशमा २४ घण्टा मै किन छुटे ?

1.9K

गाउँपालिकाको बजेट आफन्तको खातामा जम्मा गरेर अनियमितताको आरोपपछि बिहिबार राती कागजात मिलाउँदै गर्दा पक्राउ परेका लेखापाल र उनका आफन्त शुक्रबार दिउँसो छुटेका छन् ।
गाउँपालिकाको बजेट आफ्नो, श्रीमतीको र भतिजाको खातामा हालेर भ्रष्टाचार गरेको आरोप लागेका रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका लेखापाल सहित उनका चार जना आफन्तलाई प्रहरीले बिहिबार राती गाउँपालिको कार्यालमा कागज मिलाउदै गर्दा नियन्त्रणमा लिएको थियो ।
बिहिबार राति नौ बजे गाउँपालिकाको कार्यालयबाट लेखापाल हेमन्त केसी, लेखा सहायक सुवास केसी, विकाश केसी र भिमसेन केसीलाई नियन्त्रणमा लिइएका उनीहरु भोलिपल्टै बिना कारबाहि छुट्दा स्थानीयहरुले पहुँच र रकमको चलखेल भएको बताएका छन् । जिल्लाको अख्तियार दुरुपयोगको अधिकार समेत पाएका प्रमुख जिल्ला अधिकारीको कारण उनीहरु २४ घण्टा नपुग्दै छुटेको आरोप लागेको छ ।  


गाउँपालिकाका लेखापाल हेमन्त के.सी.ले आफ्नो, श्रीमती र भतिजाको खातामा गाउँपालिकाको लाखौ रकम जम्मा गरिदिएको भन्दै गाउँपालिकाका अध्यक्षको संयोजकत्वमा छानबिन कार्यदल बनाएर आईतबारबाट छानबिन सुरु गरिएको थियो । श्रीमतीको खातामा उनले ८ लाख ८६ हजार रकम जम्मा गरिदिएका थिए । त्यसैगरी लेखापाल के.सी.ले आफ्ना दाईको छोरा (भतिज) सुवास के.सी.को नाममा पनि लाखौ रकम निकाशा गरेका थिए । सुवासलाई उनले गत जेठ महिनाबाट लागुु हुनेगरी लेखा सहायक पदमा नियुक्त गराएका थिए । तर, सुवासलाई उनले फागुन महिना देखिकै तलब खुवाएको बताईन्छ । सुवासको खातामा उनले सात लाख ९१ हजार जम्मा गरिदिएका थिए । लेखापाल के.सी.ले आफ्नो नाममा समेत ८ लाख निकाशा गरेको बताईएको छ ।


यसरी भ्रष्टाचारको आरोप लागेका केसीले रातीको समयमा आफन्त सहित कागजात मिलाउदै गर्दा प्राप्त सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको थियो ।  पक्राउ गर्नु र छोड्नुको कारणबारे रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले गाउँपालिकामा राती काम गर्दा असुरक्षा भएकोले ल्याएको र स्थिति शान्त भएपछि छाडेको प्रतिक्रिया दिएका छन् । गाउँपालिकाको बजेट दुरुपयोगमा संलग्न लेखापाल र संलग्न उनका आफन्तको बचाउ गर्दै उनले आफैले पक्रिन र छोड्न आदेश दिएको बताएका छन् ।
गाउँपालिकाको बजेट दुरुपयोग गरेर करिब स्विकार समेत गरेर गाउँपालिकाकै खातामा फिर्ता गरेका लेखापाल र उनका आफन्तहरु संलग्न यस अनियमितताको कार्यमा सिडियो समेत पैसाको प्रलोभनमा परेको वा राजनितिक स्तरबाट दबाब आएको गाउँपालिकाकै केहि जनप्रतिनिधिले उल्लेख गरेका छन् ।


यस घटनामा निवेदन र कागजात तयार गर्ने कर्मचारी, तोक लगाउने कार्यकारी प्रमुख, रकम भुक्तानीका लागि आदेश दिने गाउँपालिका अध्यक्षको मिलोमतो भएको भन्दै स्थानीयले  सत्यतथ्य छानबिनको माग सहित कारबाहिको माग गरेका छन् ।प्रमुख जिल्ला अधिकारी पौड्यालले घटनाको सत्थ तथ्य छानबिन गरेर कारबाहि गरेरै छाडिने बताएका छन् ।

Recent Update