अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडेनले सांसद कमला ह्यारिसलाई उप-राष्ट्रपतिको उम्मेदवार बनाउने घोषणा गरेका छन्।कमला उक्त पदका लागि चुनाव लड्ने पहिलो अश्वेत र एसियन अमेरिकन हुनेछिन्।इन्डियन-जमैकन मूलकी क्यालिफोर्नियाकी सांसद उनले कुनैबेला राष्ट्रपति उम्मेदवारका लागि बाइडेनलाई चुनौती दिएकी थिइन्।राष्ट्रपतिको उम्मेदवार बन्ने दौडबाट पछि हटेपछि पनि सधैँ उनको नाम चर्चामा रहिरह्यो। बाइडेनले उनलाई उप-राष्ट्रपतिको उम्मेदवार बनाउने चर्चा हुने गरेको थियो।क्यालिफोर्नियामा महान्यायाधिवक्ता भइसकेकी उनले देशव्यापी रूपमा भएको रङ्गभेदविरुद्धको प्रदर्शनका बीच प्रहरीमा सुधारको आह्वान गरिरहेकी थिइन्।
पहिलो अश्वेत महिला उम्मेदवार
आगामी नोभेम्बर ३ मा हुने चुनावमा बाइडेनले वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्दैछन्।ह्यारिसले ट्रम्पका उप-राष्ट्रपतिका उम्मेदवार वर्तमान उप-राष्ट्रपति माइक पेन्ससँग आगामी अक्टोबर ७ मा सल्ट लेक सिटी, युटामा बहस गर्नेछिन्।अमेरिकामा हालसम्म अन्य दुईजना महिलाहरू मात्र उप-राष्ट्रपतिका लागि उम्मेदवार बनेका छन्।सन् २००८ मा रिपब्लिकन पार्टीका तर्फबाट साराह पालिन र सन् १९८४ मा डेमोक्र्याटका तर्फबाट जेरल्डिन फरारो उम्मेदवार बनेकी थिइन्। तर दुवैजनाले चुनाव जित्न सकेनन्।हालसम्म अमेरिकामा अश्वेत महिलाले राष्ट्रपति उम्मेदवारको टिकट पाएका छैनन् भने अहिलेसम्म महिला राष्ट्रपति चुनिन पनि सकेका छैनन्।
कमला को हुन्?
५५ वर्षीया कमला ह्यारिस डिसेम्बरमा राष्ट्रपति उम्मेदवारको दौडबाट बाहिरिएकी थिइन्।उनी क्यालिफोर्नियाको ओक्लान्डामा जन्मिएकी हुन्।उनकी आमा भारतमा जन्मिएकी थिइन् भने पिता जमैकामा जन्मेका थिए।उनले अश्वेत विश्वविद्यालय र कलेज भनेर ऐतिहासिक रूपमा चिनिएको हावर्ड विश्वविद्यालमा अध्ययन गरेकी हुन्।कमलाले आफ्नो पहिचानलाई लिएर सधैँ आफू सन्तुष्ट रहेको बताउने गरेकी छन् र उनले आफूलाई “एक अमेरिकी” भन्ने गर्छिन्।
बिबिसी बाट साभार