May 15, 2021, Saturday
२०७८ जेष्ठ २

पुर्वी रुकुमको सिस्ने गाउँपालिकामा स्थानीय पाठ्यपुस्तक तयार

328

पाठ्यक्रम निर्माण बिज्ञ समुह

रुकुम पूर्वको सिस्ने गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरी त्यसमा आधारित पाठ्यपुस्तक समेत तयार गरेको छ ।
नयाँ पाठ्यक्रमको आधारमा १ सय पुर्णाङ्कको ‘हाम्रो सिस्ने’ नामक कक्षा ६ को पाठ्यपुस्तक बनाएको गाउँपालिकाले यसै शैक्षिक सत्र देखि उक्त पाठ्यक्रम लागु गर्ने जनाएको छ । गाउँपालिका भरिका कक्षा ६–८ पढाई हुने १६ वटा विद्यालयमा लागु गर्नेगरी पाठ्यक्रम निर्माण गरिएको गाउँपालिका अध्यक्ष कुमारी बरालले बताइन । तर, यस बर्ष कक्षा ६ बाट उक्त पाठ्यक्रम लागु हुनेछ ।

गाउँपालिका अध्यक्ष बरालका अनुसार, पाठ्यक्रम निर्माण सम्पन्न गरी त्यसकै आधारमा पाठ्यपुस्तक निर्माण गरिएको हो । सिस्ने गाउँपालिकाको भूगोल, इतिहास, जनसंख्या, धर्म, संस्कृति, रितिरिवाज, पर्यटन, पेशा व्यवसाय, समाजिक मूल्य र मान्यता लगायतका बिषयवस्तु पाठ्यपुस्तकमा समावेश गरिएको अध्यक्ष बरालले जानकारी दिइन ।

गाउँपालिकाले रुक्मिणी माध्यामिक विद्यालय रुकुमकोटका शिक्षक चन्द्रवहादुर मल्लको संयोजकत्वमा पाठ्यक्रम निर्माणका लागि ११ सदस्यीय बिज्ञ समुह बनाएको थियोे । उक्त टीमले विभिन्न चरणमा स्थानीय सरोकारवालाहरुसंग छलफल र अध्ययन गरेर पाठ्यक्रम निर्माण गरेर पाठ्यपुस्तकको मस्यौदा समेत तयार गरेको हो ।
जनप्रतिनिधि, नागरिक समाज, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षा सम्बद्ध विभिन्न सरोकारवाला लगायतसंग छलफल गरी पाठ्क्रम तयार गरिएको र त्यसैका आधारमा पाठ्यपुस्तक बनाइएको हो । बिज्ञ समुहको सदस्यहरुमा हरिकृष्ण गौतम, पंचबहादुर के.सी., मोहनबहादुर के.सी., लालबहादुर खत्री, केशव कुमार बि.सी., दुर्गा गौतम, तिर्था पुन, मनमती पुन, ओपेन्द्रलाल कामी र मेघलाल घर्ति सहभागी थिए ।

कक्षा ६ देखि ८ सम्म नै पाठ्पुस्तक लागु हुने भएपनि यस शैक्षिक सत्रमा कक्षा ६ मा मात्र स्थानीय पाठ्यपुस्तक पढाई सुरु हुनेछ । त्यसपछि आगामी शैक्षिक सत्रमा कक्षा ७ र त्यसपछिको शैक्षिक सत्रमा कक्षा ८ मा पनि अनिवार्य विषयका रुपमा पाठ्यपुस्तक लागु हुने बताइएको छ । प्राथमिक शिक्षा पाठ्यक्रम २०४९ मा स्थानीय विषयवस्तु समेटेर पाठ्यपुस्तक बनाई लागु गर्न सकिने व्यवस्था गरिएको विज्ञ टोली संयोजक चन्द्र बहादुर मल्लले बताए ।
स्थानीय पाठ्यपुस्तक लागु भएमा विद्यार्थीहरुले आफ्नो स्थानीय तहका बारेमा पर्याप्त जानकारी लिनुका साथै नैतिक शिक्षा प्राप्त गर्ने विश्वास गरिएको छ ।