May 18, 2021, Tuesday
२०७८ जेष्ठ ४

रमाले संचालन गरेको नमुना गाईपालन

987

किर्तिपुर ४ काे गाम्चा गाउँमा पुग्दा अनिल थापा आफ्नो गाई फर्ममा काम गर्दै व्यस्त देखिन्थे ।साँझ पाँच बजे तिर अनिल सँगै अन्य कामदारहरु दुध कहाँ कहाँ पुर्याउने मेलाेमेसाे मिलाउदै थिए ।उनकी बुढि रमा फर्म देखि नजिकै रहेको आफ्नै डेरिमा व्यस्त थिइन। रमाले नै सुरु गरेको याे व्यवसायमा अनिल व्यस्त छन ।हेर्दा उनको गाई फर्ममा काेहि फुर्सदमा थिएनन ।हामीलाई देखेर अनिलले काम सकेर आफ्नो विगत र वर्तमानकाे बारेमा सुनाउन सुरु गरे ।

गाई दुने तयारीमा रमा

केही बर्ष राेजगारीकाे लागि साउदी काम गरेर नेपाल फर्केका अनिल अहिले आफ्नै पाैरखमा काठमाडौकाे किर्तिपुरमा मज्जाले रमाएका छन । अर्जुन एण्ड आरति गाई फर्मका संचालक अनिल पुर्ण व्यावसायिक बनेका छन ।

उनको फर्ममा आधा दर्जनले राेजगारी पाएका छन ।काममा सानो ठुलो भेदभाव हुदैन भन्ने राम्रोसँग बुझेका अनिल फर्ममा कामदारहरु सँगै काम गर्छन् ।उनको परिवारका सदस्यहरु पनि फर्म प्रति उत्तिकै लगनशील र मेहनती छन ।कलंकीका रैथाने अनिल गाइपालनलाई मुख्य व्यवसाय बनाएपछि किर्तिपुरमै बसाेबास जमाएका छन ।अहिले दैनिक दुई सय ५० लिटर दुध उनको फर्ममा उत्पादन हुन्छ ।उत्पादन भएको दुध किर्तिपुर क्षेत्र र उनको डेरीमै खपत हुन्छ ।मुख्य संचालक तथा निर्देशन सबै श्रीमती रमा बाट हुन्छ ।

दुधकाे माग धेरै छ, दूध कहाँ लगेर बेच्ने भन्ने छैन ,डेरीमै पनि खपत हुन्छ अनिल भन्छन् । १६ वटा दुधालु गाईले अनिललाई विस्तारै लाखपति बनाउदै छन ।साउदीकाे भन्दा राम्रो कमाई स्वदेशमै बनाउदा अनिल मख्ख छन ।मासिक चार लाख पचास हजार आसपासमा उनकाे आम्दानी हुन्छ ।सबै खर्च कटाएर उनको राम्रै बचत हुने गरेको छ ।सात राेपनी क्षेत्रफलमा संचालन भएको उनको फर्ममा अन्य व्यवसाय पनि थप विस्तार हुने तयारीमा छ ।

करिब करोड लगानीमा सुरुवात भएको उक्त फर्ममा चारवटा दुधालु भैंसी पनि केही दिनमा भित्र्याउने तयारी छ ।बाख्रा र लाेकल कुखुरा समेत त्यहाँ पाइनेछन ।उमेरले ५० वरिपरि रहेका अनिल र उनकी श्रीमती रमाकाे लाेभलाग्दाे मेहनत सबैका लागि प्रेरणादायी बन्न सक्छ ।म विदेश थिए ,यता श्रीमतीले सानाे लगानी बाट गाइपालन सुरु गरिन अहिले थप बढायाैँ अनिल भन्छन् ।याे पेशाकाे सम्पुर्ण श्रेय अनिल श्रीमती रमालाई दिन्छन् ।

हुन पनि रमाकै सुरुवातले आज उनको व्यवसायले विशाल रुप लिदै छ ।रमाले सानो लगानी बाट सुरु गरेको याे गाई पालन व्यवसाय अब मुख्य व्यवसाय बनेको छ ।समयानुकूल उक्त फर्मकाे क्षमता विस्तार र विकासमा उनिहरु तयार हुनेछन् ।यी जाेडिले संचालन गरेको याे व्यवसाय धेरैका लागि प्रेरणादायी व्यवसाय अवश्य बन्ने छ ।काेराेना भाइरस महामारीकाे कारणले अन्य पेशा व्यवसाय धरापमा परेपनि उनको फर्ममा खासै असर छैन ।आंशिक असर त छ तर खासै असर परेको छैन अनिल भन्छन् ।