September 25, 2021, Saturday
२०७८ आश्विन ९

त्यो गाउँकाे नेपाली घरमा के अपुग थियोे हाेला र …..

408

मैले म को हुँ भन्ने सिकेको स्थान स्कुल वा विश्वबिद्यालय थिएन । मैले त्यो नेपाली घर हेरेर आफुलाई आफु बनाएको थिए जहाँ मौरिको लागि भित्तामा घार राखिएको थियो, भुइ तलामा भैंसी, गाई, गोरु, बाख्रा, चल्ला, र दाउरा राख्ने ठाउँ अपुग हुन्थेन I चुलोको वारी पारी, झ्याल निर, बाहिर, बुइङल र बार्दलिमा सुत्ने ठाउँ फालाफाल हुन्थ्यो । चुलो बिरालोको कब्जा हुन्थ्यो, ढोका कुकुरको कब्जा । कुनै कोठाले एक्लो महसुस गर्दैनथ्यो, कुनै कोठाको किटानिको प्रायोजन थिएन । एउटा दुनियाँ थियो ।

छाना माथि फर्सी र टुन्डालमा मकै लसुन, खुर्सानी र पिडालुका लहरा झुण्डिएका हुन्थे । सानो आगनको रछयानको पानी दाउ हेरेर बसेका गोलभेडा, लाउरे फुल र पुतली फुल थिए । अली पल्तिर लाज नमानी जहिले पनि फल्ने कागतीको बोट थियो । बर्खामा साम्राज्य बिस्तार गर्ने तरुल र उछिन्न खोज्ने काक्राका झाङ थिए । के थिएनन र ? हरेक घर धर्तिको कुनै बहिष्क्रित देश जस्तो थियो, आफ्नो लागि चाहिने सबै आँफै सँग थियो । खानेमा नुन, लाउनेमा हेटौंडा कपडाको थान र प्रायोजनको लागि फलाम बाहेक सबै आफ्नै उत्पादन थियो ।हो हजारौ मान्छेको लागि अनिकालको जीवन पनि थियो ।

तर अहिले मार्बल, टायल, कार्पेट र मोडुलर किचेन अनी हात हातै स्विच र तारहरुको नसाले बाधेका घर छन तर भित्ताको बिचमा भित्ता छन र भित्ताहरु भित्ता तिर फर्केर कसरी भित्ता भईयो भनेर सोचिरहेका छन ।म पनि भित्ता सम्म पुग्न धेरै मेहनत गरेको छु । तर फर्केर हेर्छु- के थिएन त्यो घरमा ? र के छ यो घरमा ? तस्बिर साइबर दुनियाँबाट I

नर बहादुर कार्की द्वारा लिखित प्रकाशनकाे तयारीमा रहेको पुस्तककाे केही अंश उनकै फेसबुक वालबाट ,