April 19, 2021, Monday
२०७८ बैशाख ६

फ्रेन्च फुटबलर पाउल पोग्बालाई कोरोना संक्रमण

73

काठमाडौं– फ्रेन्च फुटबलर पाउल पोग्बालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ। पोग्बालाई कोरोना देखिएको फ्रान्सका मुख्य प्रशिक्षक डिडिर डेसच्याम्पसले जानकारी दिएका छन्।

इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडका मिडफिल्डर समेत रहेका पोग्बाले अब नेसन्स लिगका खेल गुमाउने भएका छन्। कोरोना देखिएसँगै फ्रान्सको टिमबाट समेत बाहिरिएका पोग्बा १४ दिनको सेल्फ आइसोलेसनमा बस्ने छन्। पोग्बाको स्थानमा १७ वर्षीय मिडफिल्डर इडुवार्डो कामभिङ्गालाई टिममा बोलाइएको प्रशिक्षक डिडिरले बताएका छन्।

फ्रान्सले नेसन्स लिगअन्तर्गत आफ्नो पहिलो खेल सेप्टेम्बर ५ तारिखमा स्वीडेनसँग प्रतिस्पर्धा गर्दैछ। त्यस्तै, ८ सेप्टेम्बरमा क्रोसियासँग फ्रान्सले खेल्ने तालिका छ।

२७ वर्षीय पोग्बाले नेसन्स लिगका खेलमात्रै होइन, इंग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसविरुद्धको खेल पनि गुमाउने सम्भावना बढेको छ। अन्तिम समयमा टिममा खेलाडी परिवर्तन गर्नु पर्दा दुःखी रहेको मुख्य प्रशिक्षक डिडिरले बताएका छन्।

यता, म्यान्चेस्टर युनाइटेड पनि पोग्बा छिटो निको होस् भनिरहेको छ। क्लबले भनेको छ, ‘युनाइटेडका हामी सबै कामना गर्छौं कि नयाँ सिजनको लागि पाउलको स्वास्थ्य छिटो ठिक होस्।’