May 16, 2021, Sunday
२०७८ जेष्ठ २

पुलकै दुर्दशा बनाउने ठेकेदारहरूलाई कारबाही होइन, रेलमार्ग बनाउने जिम्मेवारी?

229

सार्वजनिक खरिद नियमावलीले ‘साइट क्लियर’ नभएसम्म ठेक्का लगाउन निषेध गरे पनि सरकारले इनरुवा–काँकडभिट्टा रेलमार्गमा माटो बिछ्याउन ठेक्का लगाउन हतार गरिरहेको छ । सार्वजनिक खरिद कानुनलाई तिलाञ्जली दिएर सरकारबाट ३३ अर्बको ठेक्का पाउन मिलेमतो गरिसकेका ‘भाग्यमानी’ तिनै ठेकेदार हुन् जसले पुल, सडक र सिँचाइको परियोजना अलपत्र पारेका छन् ।
इनरुवाबाट झापाको काँकडभिट्टा जाने रेलको ठेक्का पाउने मिलेमतो गरिसकेका रवि सिंहको कम्पनीले प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापाको कन्काई नदीको पुल १० वर्षदेखि अलपत्र पारेको छ ।

चार वर्षभित्र सम्पन्न गर्ने गरी ०६८ जेठमा सिंहको महादेव खिम्ती र पप्पु कन्स्ट्रक्सनले ३४ करोडमा ठेक्का लिएका थिए । तर, एक दशकसम्म पुलको प्रगति ४९ प्रतिशत मात्रै छ । देशको दुर्भाग्य ! सात सय २४ मिटर लम्बाइको पुल समयमा बनाउन नसकेर अलपत्र पारेको सिंहकै कम्पनीले अर्को कम्पनी मैनाचुलीसँग मिलेर सरकारकै हस्तक्षेपमा इनरुवा–काँकडभिट्टा रेलमार्ग निर्माणमा पनि दुई अर्ब १० करोडको ठेक्का पाउँदै छ । रवि सिंह अहिले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष छन् । 

हुलाकी राजमार्गअन्तर्गत कन्काई नदीमा गौरीगन्ज र झापागाउँपालिका जोड्ने पुल ०७२ जेठ मसान्तभित्रै निर्माण भइसक्नुपर्ने थियो । तर, अहिलेसम्म पुलका पिलर बनाउनेबाहेक अरू काम भएको छैन । सम्झौताको म्याद सकिएपछि दुई वर्षका लागि ठेक्काको समय थप गरिएको थियो, तर थपिएको म्याद सकिएको पनि दुई वर्ष बितिसकेको छ । 

सिंहसँग सहकार्य गरिरहेको पप्पु कन्स्ट्रक्सनले देशभरि दर्जनौँ आयोजना अलपत्र पारेपछि सरकारले कालोसूचीमा राखेको छ । त्यसैले गत वर्षदेखि महादेव खिम्तीले मात्रै काम गरिरहेको छ । तर, सिंहले पनि मदन अधिकारीको मैनाचुली निर्माण सेवालाई पेटी ठेक्का दिएको हुलाकी सडकका इन्जिनियर नन्दकुमार गुप्ताले बताए । सिंहसँगै उनले पनि रेलमार्ग निर्माणमा एक अर्बभन्दा माथिको ठेक्का पाउने मिलेमतो भइसकेको छ । ठेक्का लिने र अलपत्र पार्नेमा उनी चर्चित छन् । उनकी पत्नी गीता अधिकारी दमक नगरपालिकाको उपमेयर छिन् । 

हुलाकी सडकका इन्जिनियर गुप्ताका अनुसार पेटी ठेक्का लिएका अधिकारीले पनि सन्तोषजनक काम गरेका छैनन् । समयमा पुल निर्माण नहुँदा स्थानीय बासिन्दा दैनिक जोखिम मोलेर डुंगामा नदी वारिपारि गर्न बाध्य छन् । 
‘नदी ठूलो हुन्छ । बर्खामा नाउ लगाउनुपर्छ । खोलाले नाउ बगाएर लान्छ कि भन्ने त्रास सधैँ हुन्छ । छेउमै रहेको पुलको पिलर हेरेर नाउ कुदाउँदै आएका छौँ,’ माईनदीमा डुंगा चलाउँदै आएका ईश्वर माझीले भने, ‘हिउँदमा हामीले नै बाँसको पुल बनाउने गरेका छौँ । त्यहाँबाट हिँड्न पैसा उठाउनुपर्ने बाध्यता छ ।’

सिंहको कम्पनीले कन्काई मात्रै होइन, रौतहटको लालबकैया नदी नियन्त्रण आयोजना, खोटाङको सडक निर्माण र सर्लाहीमा तटबन्ध निर्माण कार्य पनि अलपत्र पारेको छ । रौतहटको देवाही गोनाही नगरपालिकाको करुनियामा १६ वटा स्पर ०७२ जेठभित्र निर्माण गर्ने गरी उनले तीन करोड ६८ लाखमा लालबकैया आयोजना ठेक्का लिएका थिए । तर, थप चार वर्ष बित्दा पनि आयोजना अझै पूरा भएको छैन । पटक–पटक ठेक्काको समय थप गर्दा पनि निर्माण सम्पन्न भएन, बरु रुग्ण ठेक्काको परिचय बनाएको छ । स्पर निर्माण नहुँदा हरेक वर्ष गाउँ बाढीको चपेटामा पर्ने गरेको स्थानीय शेख फुलबाबुले बताए ।

त्यस्तै, सिंहले ०७० मै सक्ने गरी खोटाङको जिल्ला सडक निर्माणको पनि ठेक्का लिएका थिए । तर, अहिलेसम्म त्यसको प्रगति ६० प्रतिशत मात्रै छ । पछिल्ला ६ वर्षमा त कुनै काम नै नगरेर सिंहले सडक नै अलपत्र पारेका छन् । 
सिंहकी पत्नीको नाममा रहेको अञ्जना निर्माण सेवाले सर्लाही नौलखामा स्पर निर्माण गर्न लिएको ठेक्का पनि अलपत्र छ । उनले स्थानीय पेटी ठेकेदार हरेश महतोलाई जिम्मा दिएकी छिन् । तर, महतोले पनि समयमा काम नगरेकोे जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय परवानीपुरका प्रमुख राजकुमार श्रीवास्तवले बताए ।आजको नयाँ पत्रिका राष्ट्रिय दैनिक बाट साभार