July 27, 2021, Tuesday
२०७८ श्रावण १२

७० करोड मोलमोलाई काण्ड : अख्तियारमा उपस्थित हुन मिश्रलाई निर्देशन,मिश्र सुटुक्क जापान

233

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विजय प्रकाश मिश्रलाई सात दिनभित्र अख्तियारमा उपस्थित हुन निर्देशन दिएको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसन मोलमोलाई गरेको भन्ने विषयमा अनुसन्धानका लागि अख्तियारले मिश्रलाई बोलाएको हो ।
अख्तियारले बुधबार जारी गरेको सार्वजनिक सूचनामा कमिसन मोलमोलाइको विषयमा केही बुझ्नुपर्ने भएकाले मिश्रलाई उपस्थित हुन भनिएको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड मोलमोलाइ गरेको अडियो सार्वजनिक भएपछि तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका थिए । 

तोकिएको समयसीमाभित्र उपस्थित नभए कानुन बमोजिम हुने अख्तियारले जनाएको छ । ‘यो म्याद सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र यस आयोगको प्रहरी महाशाखामा अनुसन्धान अधिकृत समक्ष सम्पर्क राख्न आउनु होला, नआए कानुन बमोजिम भइ जाने छ,’ अख्तियारको सूचनामा लेखिएको छ ।

स्रोतका अनुसार यस प्रकरणको अनुसन्धान प्रक्रिया नै सकिएको छैन ।मिश्र भने लकडाउनकै बिच सुटुक्क जापान पुगेका छन ।१९ दिनपछि फेरि कोरोना संक्रमण दोहोरिएका अख्तियार प्रमुख नवीन घिमिरे कार्यकाल सकिएर भदौ २८ गतेदेखि बिदा हुन लागेसङ्गै पूर्व सञ्चार मन्त्री गोकुल बाँस्कोटामाथि लागेको कमिशन मोलमोलाईको आरोपमा आयोगले सफाई दिन लागेको बजार हल्ला व्याप्त छ ।