April 19, 2021, Monday
२०७८ बैशाख ६

वायुसेवा निगमको गम्भीर लापरबाहीकै कारण २६ लाख फजुल खर्च

183

नेपाल वायुसेवा निगमले जापानबाट काठमाडौं आएको उडानमा एकजना पिसिआर परीक्षण नगरिएको यात्रु ल्याएको पाइएको छ । बुधबारको नारितादेखि काठमाडौंको नियमित उडानको क्रममा दुई सय १३ यात्रु ल्याएकोमा एकजना पिसिआर परीक्षणविनाका यात्रु ल्याएपछि सबै यात्रुलाई होटेल क्वारेन्टिनमा राखिएको छ । एकजना यात्रु जापानबाट पिसिआर परीक्षणको रिपोर्ट लिएर आउनुपर्नेमा आरडिटी रिपोर्ट लिएर आएको पाइएको हो । 

काठमाडौं विमानस्थलमा जहाज अवतरण गरेपछि सबैको रिपोर्ट जाँच गर्ने क्रममा एक यात्रुको आरडिटी मात्रै रहेको खुलेपछि सबैलाई होटेल क्वारेन्टिनमा पठाइएको छ । यसअघि एयरअरेबियाले पनि लापरबाही गरेर पिसिआर परीक्षणबिना यात्रु ल्याएपछि सबैलाई होटेल क्वारेन्टिनमा राखिएको थियो । त्यसमा रहेका सबै यात्रुको होटेलखर्च एयरलाइन्सलाई तिराउन पर्यटन मन्त्रालयले बुधबार निर्देशन दिएको छ । ‘एकजना यात्रु आरडिटी मात्रै रिपोर्ट लिएर आएको पाइएपछि सबैलाई होटेल क्वारेन्टिनमा राखिएको छ,’ निगमकी प्रवक्ता अर्चना खड्काले भनिन् । 

ती यात्रुको काठमाडौंमा पिसिआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएकोले सबैलाई घर पठाइनदिन आग्रह गरेको खड्काले बताइन् । जापान विमानस्थलमा निगमकै कर्मचारीको लापरबाहीका कारण उक्त यात्रु आएका हुन् । सरकारले जारी गरेको निर्देशिकाअनुसार पिसिआर नगरी यात्रु ल्याएमा होटेल क्वारेन्टिनमा सात दिन सबै यात्रु राख्नुपर्ने र सबै खर्च सम्बन्धित यात्रुलाई भराउन भनिएको छ । अब निगमले सबै यात्रुको होटेल खर्च व्यहोर्नुपर्नेछ । जसमा कम्तीमा पनि २६ लाख ८३ हजार रुपैयाँ फजुल खर्च हुने भएको छ ।   

सरकारले नियमित उडान हुने गन्तव्यबाट आउने सबै यात्रुको अनिवार्य पिसिआर रिपोर्टको व्यवस्था गरेको छ । त्यस्तै उद्धार उडान मात्रै हुने देशबाट भने पिसिआर नभएका यात्रु पनि आउन पाउने, तर होटेल क्वारेन्टिनमा सात दिन बसेर पिसिआर परीक्षणपछि मात्रै घर जान पाउने व्यवस्था गरिएको छ । घर जान पनि १४ दिन होम क्वारेन्टिन बस्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ । नयाँ पत्रिका बाट