January 21, 2021, Thursday
२०७७ माघ ८

रुपन्देहीमा आज थप तीन जना संक्रमितको मृत्यु

84

रुपन्दे – रुपन्देहीमा शुक्रबार बिहान तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ।

मृत्यु हुने दुई जना सिद्धार्थनगर नगरपालिकाका र एक जना बुटवल उपमहानगरपालिकाका छन्। तीमध्ये दुई जनाको बुटवलमा र एकजनाको भैरहवास्थित घरमै मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

बुटवल उपमहानगरपालिका- १० रामनगरस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा उपचाररत् ६४ वर्षीया महिलाको शुक्रबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ।

अस्पतालका अध्यक्ष एजाज आलमका अनुसार सिद्धार्थनगर नगरपालिका- ७ की महिला स्वास्थ्य समस्या देखिएपछि भदौ ४ गते अस्पताल भर्ना भएकी थिइन।

उच्च रक्तचाप, सुगर, मिर्गौला र निमोनियाको समेत समस्या रहेकी उनलाई कोरोनाको समेत आशंकामा स्वाब परीक्षण गर्दा भदौ १६ गते कोरोना पोजिटिभ रिपोर्ट आएको थियो।

स्वास्थ्यमा थप समस्या देखिएपछि भेन्टिलेटरमा राखी उपचार भइरहेकोमा शुक्रबार बिहान साढे आठ बजे मृत्यु भएको आलमले जानकारी दिए।

यस्तै सिद्धार्थनगर-८ का ४५ वर्षीय पुरुषको पनि शुक्रबार मृत्यु भएको छ।

जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकल पर्सन केदारनाथ शाहका अनुसार कोरोना संक्रमण सँगै मिर्गौलाका बिरामी उनको शुक्रबार बिहान घरमै मृत्यु भएको हो।

भरतपुर अस्पतालमा उपचार गरी भैरहवा आएका उनको बिहान मिर्गौलाको डायलासिस गर्न जाने तयारी गर्दैगर्दा मृत्यु भएको शाहले जानकारी दिए।

यता बुटवलको कोरोना विशेष अस्पतालको भेन्टिलेटरमा उपचाररत् ७८ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको छ।