December 6, 2021, Monday
२०७८ मंसिर २०

एयरपोर्टमा ग्राउन्डेड चिनियाँ जहाज, तर ९ अर्बमा पाँच जहाज खरिद गर्दै निगम

333

नेपाल वायुसेवा निगमले आन्तरिक उडान गर्ने पाँच थान जहाज खरिद प्रक्रिया अगाडि बढाउने भएको छ । चिनियाँ ६ थान जहाज नचलाउने निर्णय गरेको निगमले नयाँ पाँच थान जहाज खरिदको तयारी गरेको हो । निगम व्यवस्थापनले दुई थान एटिआर ७२ सिरिज र तीन थान ट्विनअटर जहाज खरिद गर्ने गरी व्यावसायिक योजना तयार पारेको छ । उता चिनियाँ जहाज त्रिभुवन विमानस्थलमा नचलाएर ग्राउन्डेड अवस्थामा छन ।

निगमका नायब महाप्रबन्धक गणेशचन्द्र ठाकुरको संयोजकत्वमा गठित समितिले पाँच थान जहाज खरिदका लागि अनुमानित ९ अर्ब रुपैयाँ खर्च लाग्ने प्रारम्भिक योजना बनाएको छ । सोही व्यावसायिक योजनाअनुसार निगम सञ्चालक समितिले जहाज खरिद प्रक्रिया अगाडि बढाउने भएको हो । 

केही समयअघि अनौपचरिक प्रस्ताव पठाएको निगम व्यवस्थापनलाई अर्थ मन्त्रालयले व्यावसायिक योजना ल्याएपछि मात्रै प्रक्रिया अगाडि बढाउने जनाउ दिएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निगमसँग आन्तरिक उडानमा ४० वर्ष पुराना जहाज रहेको भन्दै नयाँ जहाज खरिद प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकेका छन् । 

अर्थ मन्त्रालयको सुझाबअनुसार निगमले आन्तरिक उडानका लागि नयाँ जहाज खरिद गर्न व्यावसायिक योजना तयार पारेको निगमका कार्यकारी अध्यक्ष सुशील घिमिरेले बताए । उनले भने, ‘निगमले व्यावसायिक योजना बनाएर ल्याउनु भनेपछि आन्तरिक रूपमा तयार पारेको र केही समयपछि सञ्चालक समितिमार्फत अगाडि बढाउनेछौँ ।’

निगमले आन्तरिक उडानका लागि एटिआर ७२ दुई थान र तीन थान ट्विनअटर जहाज खरिद गरी उडान गरेर आन्तरिक भाडालगायतका विषयमा हस्तक्षेप गर्ने योजना बनाएको घिमिरे बताउँछन् । विगतमा दुर्गम क्षेत्रमा निगमको एकछत्र राज रहेको थियो । तर, जहाज पुराना हुँदै गएपछि दुर्गममा पनि निगमको उडान खुम्चिएको दशक भइसकेको छ । यता सुगम क्षेत्रमा उडान गर्ने जहाज नै निगमसँग छैन ।

अहिले निगमसँग चिनियाँबाहेक ३ थान ट्विनअटर जहाज रहे पनि दुई थान मात्रै चालू अवस्थामा छन् । दुर्गममा सेवा दिन निगमसँग जहाज आवश्यक छ ।  त्यस्तै, निगम सञ्चालक समितिले निगमको चुक्ता पुँजी ५० अर्ब पुर्‍याउने प्रस्तावसमेत सँगै गरेको छ । हाल निगमको सम्पत्ति ५४ खर्ब रहे पनि चुक्ता पुँजी ३३ करोड मात्रै रहेको छ । ‘चुक्ता पुँजी थप्नुको विकल्प छैन, पर्यटन मन्त्रालय र अर्थ मन्त्रालयले यसमा सहयोग गर्नेमा आशावादी रहेका छौं,’ अध्यक्ष घिमिरेले भने । 

निगमसँग अन्तर्राष्ट्रिय उडानमा एयरबस ३३०–२०० सिरिजका दुई थान वाइडबडी, एयरबस ३२०–२०० सिरिजका दुई थान न्यारोबडीसहित चार थान जहाज रहेका छन । चार थान जहाजमार्फत अन्तर्राष्ट्रिय ९ वटा गन्तव्यमा उडान गर्दैै आएको छ । आजको नयाँ पत्रिका दैनिक बाट साभार