October 22, 2020, Thursday
२०७७ कार्तिक ७

मदिरा व्यवस्थापनमा लागे रुकुमका स्थानीय तह

189

रुकुम – जिल्लाभर मदिरा बिक्री वितरणमा पूर्ण रुपमा निषेध गर्ने नीति लिएको स्थानीय सरकार अन्ततः मदिरा व्यवस्थापनतिर लागेको छ। स्थानीय सरकारले कानुन कार्याविधि बनाउनेदेखि जिल्ला समन्वय समिति रुकुम पश्चिमबाट निर्णय गराएर जिल्लालाई मदिरामुक्त बनाउने प्रयास थाले पनि कानुनी जटिलताका कारण पछि हटेका हुन्।

रुकुम पश्चिममा मदिरा बिक्री वितरणमा निषेध गर्ने निर्णय गरेसगै जिल्लाका अनुमति प्राप्त मदिरा पसलहरुमा पनि शिलबन्दी गरिएको थियो भने प्रत्येक स्थानीय तहले मदिरा पसलबाट मदिराजन्य सामग्री जफत गरेका थिए।

बिहीबार मात्र रुकुम पश्चिमको चौरजहारी नगरपलिकाले एक सूचना जारी गर्दै मदिरा व्यवसाय गर्नका लागि आवेदन पेश गर्न आह्वान गरेको छ। निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीको हस्ताक्षर रहेको सूचनामा अन्य दिन साँझ ५ बजेदेखि ७ बजेसम्म र सार्वजनिक बिदाको दिन ४ बजेदेखि ७ बजेसम्म बिक्री वितरण गर्न पाईने उल्लेख गरिएको छ।

त्यसबाहेक मदिरा बिक्री वितरणका लागि विभिन्न सर्तहरु पालना गर्नुपर्ने पनि उल्लेख गरेको छ। जसमा उमेर नपुगेका बालबालिकालाई मदिरा बिक्री वितरण र कारोबार गर्न नपाईने, सार्वजनिकस्थलभन्दा टाढा व्यवसाय गर्नुपर्ने, मदिरा खरिद कर्ताको विवरण राख्नुपर्ने र एक लाख बढी धरौटी रकम नगरपालिकालाई बुझाउनुपर्ने उल्लेख गरिएको छ।

केही महिना मदिरा व्यवसाय पूर्ण रुपमा बन्द रहेको रुकुम पश्चिम सदरमुकाम खलंगामा हाल खुला रुपमा मदिराको बिक्री वितरण र सेवनका कार्यहरु भइरहेका छन्। जिल्लामा आपराधिक घटनाहरुमा वृद्धि भएको भन्दै रुकुम पश्चिममा मदिरा निषेधको नीति लिइएको थियो।


Recent Update