May 16, 2021, Sunday
२०७८ जेष्ठ ३

रुकुमपश्चिमको चौरजहारीमा तोकिएको काम नगरे प्रअलाई पाँच हजार जरिवाना

204

रुकुमपश्चिम – पहिलोपटक रुकुमपश्चिमको चौरजहारी नगरपालिकाले प्रधानाध्यापक परीक्षामार्फत छनोट गरेको छ । छनोट भएका प्रधानाध्यापकले तोकिएको काम गर्न नसकेमा रु पाँच हजार जरिवानासमेत तिनुपर्ने नियम बनाइएको छ ।

नगरभित्र रहेका ३७ विद्यालयमध्ये ३० विद्यालयमा परीक्षामार्फत प्रअ छनोट गरी भदौ २६ गते नियुक्ति दिन लागिएको छ । विद्यालय विकास प्रस्ताव, त्यसको प्रस्तुतीकरण र समूह छलफलका आधारमा प्रअ छनोट गरिएको नगरप्रमुख विशाल शर्माले जानकारी दिए । सबै प्रअलाई पाँच वर्षका लागि करार सम्झौता हुने नगरप्रमुख शर्माले भने।

सम्झौताअनुसार न्यूनतम काम नगरे बर्खासीको बाटो पनि खुलै राखिएको छ । प्रअले साविकको प्रअ भत्ताको २०० प्रतिशत थप भत्ता पाउनेछन् । प्रअ छनोट हुनेमा स्थायी, अस्थायी, राहत तथा करारमा नियुक्त भएकासमेत छन् । प्रअले नगरपालिकासित पहिलो चरणमा एक वर्षको करार सम्झौता गर्नेछन् । एक महिना, तीन महिना र एक वर्षमा गर्नुपर्ने काम उक्त सम्झौतामा उल्लेख हुनेछ । हरेक एक महिना, तीन महिना र १२ महिनामा गर्नुपर्ने काम नगरेको खण्डमा प्रअबाट हट्नुपर्ने र रु पाँच हजार जरिवाना तिर्नुपर्ने छ ।

विभिन्न मापदण्डका आधारमा नगरपालिकाले प्रअको कामको मूल्याङ्कन गर्ने छ । मूल्याङ्कनमा कम्तीमा ५० अङ्क ल्याउनुपर्ने छ । मूल्याङ्कनका आधारमा ८० प्रतिशत बढी नतिजा ल्याउने प्रअलाई ५० प्रतिशत भत्ता थप हुने छ । नगर शिक्षा नियमावली–२०७४ को दोस्रो संशोधन, २०७७ अनुसार प्रअ नियुक्तिको प्रक्रिया अघि बढाइएको नगरप्रमुख शर्माले बताए ।

नगर शिक्षा ऐनअनुसार प्रअ छनोट गरिएको भन्दै उनले सङ्घीय शिक्षा ऐनअनुसार मापदण्डका आधारमा प्रअको परीक्षा लिइएको जानकारी दिए ।रासस