October 22, 2020, Thursday
२०७७ कार्तिक ६

वार्षिकोत्सव खर्च ढोरपाटनका बाढी पीडितलाई

153

बागलुङ – बागलुङको एक समाचार अनलाइनले आफ्नो वार्षिकोत्सवको रकम ढोरपाटनका बाढी पीडितलाई सहयोग गरेको छ ।

आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङद्वारा सञ्चालित आदर्शसञ्चार डट कमको प्रथम वार्षिकोत्सवका अवसरमा ढोरपाटनका बाढी पहिरो पीडितका लागि रु एक लाख ५१ हजार १५१ आर्थिक सहयोग गरिएको छ ।

आदर्श सञ्चार डट कमको वार्षिकोत्सवको खर्च कटाएर र संस्थाका शेयर सदस्यहरुसँग सङ्कलित रकम पहिरो पीडितका लागि सहयोग गरिएको संस्थाका अध्यक्ष हुमाकुमारी जिसीले जानकारी दिनुभयो । “सिङ्गो बागलुङ शोकमा डुबेको छ”, जिसीले भन्नुभयो, “कोरोनाको महामारीबीच वार्षिकोत्सव मनाउने खर्च बाढी पीडितलाई सहयोग गरेका हौँ ।” यही भदौ १७ गते राति भुजी खोलाको बाढीले तटीय बस्ती बगाउँदा ठूलो जनधनको क्षति भएको थियो ।

बाढीमा परेर हालसम्म १६ जनाको मृत्यु भइसकेको छ भने २२ जना अझै वेपत्ता छन् । बाढीका कारण ८० घर पूर्णरूपमा क्षति भएका छन् ।

संस्थाले २०७६ भदौ २१ गतेदेखि आदर्श सञ्चार डट कम सञ्चालनमा ल्याएको थियो ।

Recent Update