October 21, 2020, Wednesday
२०७७ कार्तिक ५

नुवाकोटको घ्याङफेदीमा भीषण पहिरो, स्थानीयको बिचल्ली

156

नुवाकाेट – अघिल्लो वर्ष पहिरोको चपेटामा परेर ठूलो जनधनको क्षति व्यहोरेको नुवाकोटको दुर्गम गाउँ घ्याङफेदीमा फेरि पनि भीषण पहिरो गएको छ ।

अविरल वर्षाका कारण दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीको सीसीपू बस्तीमाथिबाट मंगलबार विहान खसेको पहिरोले स्थानीयबासी आतंकित बन्न पुगेका छन् ।

साथै, आफ्नो ज्यान जोगाउनका लागि यहाँका सयभन्दा बढी घरपरिवार विस्थापित नै भएका छन् । गाउँमा पहिरो गएपछि ज्यान बचाउनका लागि बालबच्चा च्यापेर भागदौडको अवस्था आएको स्थानीय विष्णु तामाङले जानकारी दिए ।

पहिरोको डरले गाउँबाट भागेकाहरुको बिचल्ली भएपछि घ्याङडाँडा र गो-ख्र्याङको खाली जमीनमा बस्न पुगेका छन् । ‘गाउँ पुरिने उच्च जोखिममा छ । हामी सयौँ स्थानीय घर छोडेर भाग्न बाध्य छौँ’, उनले घटना विवरण सुनाउँदै भने, ‘पहिरोले गाउँमुनिको तादी खोला थुनिन सक्ने खतरा बढेको छ ।’

सोही कारण घ्याङफेदीभन्दा तलतिरका बस्ती र खेतियोग्य फाँटहरु बगाउने खतरा बढेको स्थानीयहरु बताउँछन् । बस्तीमा बाक्लो हुस्सु लागेकाले उद्दारका लागि कोही पनि जान सक्ने अवस्था नरहेको बुझिएको छ ।

त्यस्तै, सीसीपू गाउँमा रहेको पुल समेत पहिरोसँगै आएको बाढीले बगाएको अनुमान गरिएको छ । पहिरोका कारण तादी खोलामा समेत ठूलो बाढी आएको छ ।

गाउँपालिकाले घटनापछि पनि कुनै चासो नराखेको स्थानीय विष्णु तामाङले गुनासो गरे । त्यहाँ के–कति मात्रामा क्षति भयो भन्ने अहिलेसम्म विवरण आइसकेको छैन ।

Recent Update