October 22, 2020, Thursday
२०७७ कार्तिक ६

‘भोकको पीडाले फेरि भारत पस्न बाध्य पार्‍यो’

216

कञ्चनपुर – कोराना भाइरस फैलिएसँगै पाँच महिना पहिले नेपाल प्रवेश गरेका सुदूर तथा मध्यपश्चिम क्षेत्रका नेपालीहरु साँझऔबिहानको छाक टार्नकै लागि फेरि भारत फर्कन बाध्य भएका छन्‌।​​​सीमा नाकामा भारततर्फ जाने नेपालीहरुको लर्को लाग्न थालेको छ।

पश्चिमी सीमा नाका गड्डाचौकी र कैलालीको त्रिनगर नाका हुँदै किशोरदेखि वृद्धसम्म भारततर्फ गइरहेका छन्‌।  स्वदेशमा रोजगारीको अभावले हातमुख जोर्नै समस्या भएपछि भारततर्फ जान लागेको डडेल्धुरा अजयमेरुका रतन बहादुर कामीले बताए। ‘भारतबाट फर्कँदा कमाएर ल्याएको थोरै रकम सकिएपछि रोजगारी खोज्न फेरि त्यतै जानुपर्ने भयो, नेपालमा कतै रोजगारी पाइएन। जोखिम भएपनि पुनः सपरिवार भारत जान हिँडेका हौँ,’ उनले थपे, ‘रोगको डरले स्वदेश फर्केका थियौं, भोकको पीडाले फेरि भारत पस्न बाध्य पार्‍यो।’ लकडाउन भएसँगै नेपाल भित्रिएका उनीहरु पाँच महिना आफ्नै देशमा बसेका  थिए।

तर, लामो समयसम्म कामविहीन हुँदा खान-लगाउन नै समस्या परेपछि फेरि भारततर्फ जान लागेको उनीहरू बताउँछन्‌। राज्यले भारतबाट फर्केकाहरुका लागि राहतका कुनै कार्यक्रम ल्याउन नसक्दा ‘भोकले भन्दा रोगले मर्नु जाति’ भन्दै धेरै जना भारत फर्कन थालेका छन्‌। भारतमा फैलिरहेको कोरोनासँग मनमनै डर लागिरहेको भएपनि एक छाक टार्न र परिवार पाल्नका लागि भएपनि रोजगारीका लागी भारत जानु परेको गड्डाचौकीमा भेटिएका नेपालीहरूले बताएका छन्‌।  पछिल्लो समय भारतमा कोरोना संक्रमित र मृत्यु हुनेको संख्या बढेको भएपनि आफ्नो जीवन जोखिममा राखेर नेपालीहरु भारत पस्न बाध्य छन्‌। 

नेपालीहरुलाई सीमा क्षेत्रमा रहेका सुरक्षाकर्मीहरुले आधार कार्डका आधारमा भारत पठाउने गरेका छन्‌। नेपालबाट पठाइएकाको भारतीय पक्षले समेत स्वास्थ्य परीक्षण गरी जान दिने गरेको छ। आधार कार्ड देखाउँदै नेपालीहरु सीमा क्षेत्रबाट भारततर्फ गइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले जानकारी दिए।

Recent Update