आज राष्ट्रिय मेलमिलाप दिवस अर्थात् नेपाली काँग्रेसका संस्थापक एवं महामानव श्रद्धेय बिपी कोइराला लाई श्रद्धा पूर्वक स्मरण गर्ने दिन । बिपी जयन्ती, बिपी स्मृति दिवस । देशलाई जहानियाँ राणा शासनबाट मुक्ति दिलाई प्रजातन्त्रको उदय गराउन आफ्नो ज्यानको बाजी थापेर स्वर्गीय महामानव विश्वेश्वर प्रसाद कोइराला स्वदेश फर्किएको दिन पनि आजै हो । यस्तो पावन अवसरमा स्वर्गीय महामानवलाई स्मरण गर्न पाउँदा समाजवादमा आस्था राख्ने प्रजातन्त्र प्रति विश्वास राख्ने हरेक व्यक्तिको छाती गर्वले चौडा हुन्छ ।
अहिले प्रजातन्त्र र समाजवादको संस्थागत हुने प्रक्रियामा अड्चनहरू आइ परेका छन् । हाम्रो आफ्नै पार्टी नेपाली काँग्रेस समेत सिद्धान्त कमजोर परेको र पार्टी भित्र गुट उपगुटको राजनीति मौलाएको कारण पार्टीको मुख्य सिद्धान्त ओझेल परेको छ । नेपाली काँग्रेसमा आस्था राख्ने हामी सम्पूर्ण नेता तथा कार्यकर्ताले बिपी द्वारा निर्देशित सिद्धान्तलाई कति सम्मान गर्यौँ र कति व्यवहारमा लागु गर्ने प्रयत्न गर्यौँ भनेर एक पटक सोच्नु पर्ने समय आएको छ।
आज देशमा कम्युनिस्ट हरूको अराजकता र दुई तिहाइको दम्भले राजनैतिक विकृति फैलिइरहँदा नेपाली काँग्रेसको उपस्थिति कुन स्थानमा छ र त्यो विकृतिको अराजकताको प्रतिवाद काँग्रेसले कसरी गरिरहेछ भनेर मूल्याङ्कन गर्ने समय आएको छ । जनताले आफ्नो अमूल्य बहुमत सम्मान पूर्वक कुनै यौटा दललाई प्रदान गरेका थिएनन् । कुटिल र कथित ‘पार्टी एकीकरण’ को प्रोपोगान्डा मार्फत कम्युनिस्ट शक्तिहरू एकत्रित भई काँग्रेसलाई कमजोर देखाउने प्रपञ्च रचिएको थियो जुन पूर्णतया सफल हुन सकिरहेको छैन ।
नेकपा विभाजनको सँघारमा पुगेको छ । दुई तिहाइ मत प्राप्त गरेर पनि नेकपाले देश र जनताको लागि उल्लेख्य केही परिवर्तन गर्न सकेन । गरिब र निमुखा जनताको लागि लडिएको भनिएको कथित जनयुद्धका सूत्रधारहरू समेत आफू कसरी खाने र कार्यकर्तालाई कसरी पाल्ने पोस्ने भन्ने धन्दा मै लागिरहेका छन् । आमूल परिवर्तन अनुभव हुने गरी यो सरकारले कुनै नवीनतम उपलब्धि हासिल नगरी आधा भन्दा बढी समय बिताइसकेको छ र अब वाकी रहेको आधा समय आन्तरिक द्वन्द्व व्यवस्थापन मै गुमाउने निश्चित प्राय भइसकेको छ ।
आज देशको अवस्था यस्तो दयनीय हुनुमा कम्युनिस्टहरू मात्र दोषी छैनन् । उनीहरूको सङ्ख्या बढाउनुमा नेपालमा कम्युनिस्ट आन्दोलन मौलाउनुमा र अन्ततः नेपाली काँग्रेसले आफ्नो बहुमत गुमाउनुमा कहीँ न कहीँ कतै न कतै हाम्रो पार्टी पनि जिम्मेवार छ । नेपाली काँग्रेस मूल सिद्धान्त बाट विचलित हुनु, बिपी को सिद्धान्तलाई पूर्णतया पालना गर्नबाट हाम्रो चुक्नु नै कम्युनिस्टहरू शक्तिशाली हुनुको मुख्य कारण हरू हुन् ।
हामीले कहाँ गल्ती गर्यौँ भन्ने विषयमा गम्भीर आत्मालोचना र आत्म समीक्षा हुनु जरुरी छ । हामीबाट आजसम्म भएका गल्ती कमजोरी हरूलाई सुधार गरेर आउँदो आम निर्वाचनमा बहुमत हासिल गर्नको लागि आजैबाट नेपाली काँग्रेस सङ्गठन को पुनर्ताजगी अभियान लिएर गाउँ गाउँमा पुग्नुपर्ने आजको आवश्यकता हो ।
देश र जनताको समृद्धि र समग्र राष्ट्रको विकाश एवं अमनचैनको लागी काँग्रेसको विकल्प नै छैन । इतिहासले राज्यको सबै दायित्व सुम्पिएको काँग्रेसलाई समयले आज कमजोर साबित गरिदिएको छ । यो चुनौती हो हाम्रो लागी । समयले दिएको यो चुनौतीलाई सहर्ष ग्रहण गरी यथाशक्य सङ्गठनलाई मजबुत बनाउन तर्फ ढिला नगरीयोस नत्र हामी अझै कमजोर बन्नुपर्ने निश्चित छ । याद रहोस् जति जति नेपाली काँग्रेस कमजोर बन्छ त्यति त्यति प्रजातन्त्र पनि कमजोर बन्नेछ । नागरिकका अधिकारहरू कमजोर हुनेछन् । संविधानको मर्म र परिभाषाको समेत अपव्याख्या गरिनेछ र समग्र देश कमजोर बन्नेछ ।
हार्दिक श्रदासुमन महामानव बि पी कोइराला प्रति
जय नेपाल
दिपिका भुसाल –
प्रथम उपसभापति जनसम्पर्क समिती इजरायल