
बालाराम ओली
प्यारा भाइ –बहिनीहरुमा
अटुट सम्झना
आराम रही सबैलाइ आरामकै कामना व्यक्त गर्दछु ।
भाइ बहिनीहरु यतिबेला कोरोना भाइरस नामक प्राणघाती भाइरसको कारण विश्वव्यापी रुपमा अकल्पनीय दुःखत परिस्थतिको सिर्जना भएको सबैलाइ थाहा नै छ ।यतिबेला मानव जनजीवनका दैनिक जीवन ब्यवहारमा प्रत्यक्ष असर भैरहेको हुनाले हामी सबै विद्यालयमा गएर अध्ययन अध्यापन गर्ने समयलाई समेत थाती राखेर जीवन मरणको संघर्षमा होमिएका छौ ।
चैत्र पाँच गते देखि जब हामीले गत शैक्षिकसत्रको वार्षिक परीक्षा सकेर विद्यालय हतार हतारमा बन्द गर्न प¥यो त्यसपछिका दिनहरु हामी सबैका लागि असाध्य कष्टपुर्ण तथा चुनौतिपुर्ण बन्दै गएका छन । हाम्रो देश लगाएत विश्वभरिका तिमीहरु जस्तै कलिला प्रिय बालबालिकाहरुले आ – आफनो विद्यालयमा गएर अध्ययन गर्न सक्ने वाताबरण अझ सम्म बन्न सकेको छैन ।
आज देखि हाम्रो शैक्षिक सत्र शुरु भैसकेको छ र आजै बाट तिमीहरुको नयाँ भर्ना लिनु पर्नेमा हामीले तिमीहरुलाई आ – आफनो घरभन्दा वरपर नजान आग्रह गरिरहँदा मलाइ असाध्यै नराम्रो महशुस भैरहेको छ । तर के गर्ने यो परिस्थितिको सामना गर्नु बाहेक अर्को विकल्प हामी सग छैन ।
प्यारा मेरा विद्यार्थी भाइ –बहिनीहरु तिमीहरु यतिखेर निराश र हताश मानसिकतामा भने कदापी नबस्नु । रातपछि दिन अवश्य आउछ दुःख पछि सुख पनि अवश्य आउने छ । अप्ठेरो तथा जर्जरपुर्ण परिस्थितिबाट नै सुन्दर चिजको जन्म हुन्छ । हामीले यतिखेर विश्व झै कठिन परिस्थितिको सामना गर्नुपर्ने नै छ । आशा छ सुनौलो विहानीको किरण तिमीहरुले चाँडै देख्न पाउने छौ र हामी सबैले आ आफनो विद्यालयमा गएर अध्ययन अध्यापन कार्यलाइ नियमित रुपमा अगाडी बढाउने छौ । अहिले भने तिमीहरुलाई सुरक्षितका साथ आ- आफनो घरमा बसेर निम्न कार्यहरु अनिबार्य रुपमा गर्नु हुन अनुरोध गर्दछु ।
१) लकडाउनको पुर्ण पालना गर्ने ।
२)सरसफाईमा विषेश ध्यान दिने ।
३)आफु सग भएका विभिन्न पुस्तकहरुको नियमित अध्ययन गर्ने
४) कविता,कथा,गित,चित्र आदिको लेखन गर्ने
५)घर वरिपरी फूलका विरुवाहरु रोप्ने
६)अभिभावकलाई घरको काममा सघाउने
७) कुनै पनि खराब वा नराम्रा काम कुरा देखि टाढा रहने
उहि तिमीहरुलाइ माया गर्ने शिक्षक
बालाराम ओली
श्री नमूना आधारभूत विद्यालय
तमाकछरे त्रिवेणी गाँउपालिका ५
रुकुम पश्चिम