बुटवल – विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपालमा पनि गरिएको लकडाउनले कर्मचारी लगायत व्यापर व्यवसाय गर्ने सबै नागरिक आर्थिक चपेटामा परेका छन् । लकडाउनको समयमा कति को जागिर नै खोसिएको छ भने कतिको जागिर नखोसिय पनि तलब आउन बन्द भएको छ ।
यस्तो अवस्थामा पनि निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) रुपन्देहीले आफ्ना सदस्य विद्यालयका शिक्षक–कर्मचारीको लकडाउन अवधिको तलब २५ प्रतिशत नघट्ने गरी दिने निर्णय गरेको छ ।
बैशाख महिनादेखि तलब नपाएका शिक्षक–कर्मचारीहरुलाई कम्तिमा २५ प्रतिशत नघट्ने गरी पारिश्रमिक दिने प्याब्सन रुपन्देहीको भेलाले निर्णय गरेको हो । तीन महिनासम्म तलब नपाएपछि शिक्षक कर्मचारीहरु आन्दोलित हुँदै आएका थिए । रूपन्देही जिल्लामा प्याब्सनमा आवद्ध दुई सय ४२ विद्यालयहरुमा करिब सात हजार शिक्षक–कर्मचारी छन् ।
प्याब्सन रुपन्देहीको सोमबार साँझ अबेरसम्म चलेको भेलाले शिक्षक–कर्मचारीहरुलाई आंशिक तलब दिने निर्णय गरेको अध्यक्ष लेखनाथ पौडेलले जानकारी दिए ।
आफ्नो विद्यालयको आर्थिक अवस्थाअनुसार विद्यालयहरुले २५ प्रतिशतभन्दा बढी पारिश्रमिक पनि दिन सकिने भेलाले निर्णय गरेको अध्यक्ष पौडेलले बताए ।