बलिउडमा नेपोटिजमको विषयमा करन जोहरको नाम सबैभन्दा माथि आउँछ । सुशान्त सिंहको मृत्युपछि मात्रै होइन, त्यसअघि पनि उनलाई धेरैले यसमा मुछ्ने गर्दथे । तर यसपटक भने उनीविरुद्ध सोसल मिडियामा जुन रोष देखिएको छ, त्यसले करनलाई भित्रैदेखि हल्लाएको छ ।
भारतीय सञ्चार माध्यम बलिउड हंगामासँगको कुराकानीमा करन जोहरका एक निकै मिल्ने साथीले उनको स्थितीबारे जानकारी दिएका छन् । उनले भने, ‘उनी यत्तिका वर्षसम्म सोसल मिडियामा ट्रोल भइरहेका छन् र करनलाई लागेको थियो कि यी सबका लागि उनको छाला मोटो भइसकेको छ । तर सुशान्तको मृत्युपछि मानिसहरुले उनीविरुद्ध जसरी आफ्नो रिस पोखेका छन्, त्यो देखेर उनी भित्रैदेखि टुटेका छन् ।’
उनले थपे, ‘करनसँग नजिक भएका सबैजना यतिबेला जनताको निशानामा छन् र यसका लागि उनी आफू जिम्मेवार भएको ठानिरहेका छन् । उनका तीन वर्षका सन्तानलाई मारिदिने धम्की आइरहेको छ ।’
उनका साथीका अनुसार जब उनलाई कसैको फोन आउँछ जब उनी बेस्सरी रुन थाल्छन् । ‘उनले रुँदै प्रश्न सोध्छन्, ‘आखिर यस्तो सजाय पाउन, मैले के गल्ती गरेको छु र?’,’ उनले भने ।
उनका अनुसार उनी करनको विषयमा अत्यधिक डराएका छन् र करन यतिबेला केही पनि बोल्ने स्थितीमा छैनन् ।