
ब्रिटिश प्रधानमन्त्रीको स्वास्थ्यमा केही सुधार भएपछि बोरिस जोनसनलाई सघन उपचार कक्षबाट बाहिर निकालिएको तर उनी अस्पतालमै रहने डाउनिङ्ग स्ट्रीटले जनाएको छ ।कोरोनाभाइरसको संक्रमण देखिएका जोनसन गत आइतवारदेखि लण्डनस्थित सेन्ट टमसेज अस्पतालमा उपचार गराइरहेका छन्।
’नम्बर टेन’ भनेर चिनिने प्रधानमन्त्री कार्यालयले जोनसनलाई “बिहीवार साँझ सघन उपचार कक्षबाट वार्डमा सारिएको र त्यहाँ उनलाई डाक्टरहरूले निकटमा रहेर निगरानी गर्ने“ जनाएको छ। प्रवक्ताले थपे “उहाँ एकदमै राम्रो मनस्थितिमा हुनुहुन्छ । कोरोनाभाइरसको सङ्क्रमण देखिएको १० दिनपछि गत आइतवार प्रधानमन्त्री जोनसनलाई अस्पताल लगिएको थियो र त्यसको भोलिपल्ट उनलाई सघन उपचार कक्षमा सारिएको थियो।
उपचारका क्रममा जोनसनलाई अक्जिसन दिइएको भए पनि भेन्टिलेटरमा भने नराखिएको डाउनिङ्ग स्ट्रीटले यसअघि जनाएको थियो।यसैबीच, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जोनसनलाई सघन उपचार कक्षबाट वार्डमा सारिनु शुभ समाचार भएको बताएको बिबिसीले जनाएको छ ।