
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सर्वपक्षीय संरचना बनाउन आवश्यक रहेको बताएका छन् ।
अध्यक्ष प्रचण्डले विश्वव्यापी चुनौतीको रुपमा रहेको कोरोनाको सामना गर्न सत्तापक्ष, प्रतिपक्ष लगायत सवै दल सम्मिलित संरचना बनाएर अघि बढ्न सकेमात्र सफल हुने बताएका हुन् ।
बिहीबार इमेज टेलिभिजनको हट सिट कार्यक्रममा अध्यक्ष प्रचण्डले सवैको सहभागीतामा बनाइने त्यस्तो संरचना प्रधानमन्त्रीको नेतृत्वमा बनाउन सकिने भन्दै त्यसबारे प्रधानमन्त्री केपी ओलीसँग पनि आफुले छलफल गर्ने बताए !
‘कोरोनाविरुद्धको लडाईं सरकार वा कोही पनि एक्लैले सामना गर्न सक्दैन । सर्वपक्षीय संरचना बनाएर सवै मिलेर मात्र यसलाई बनाएर मुकाबिला गर्न सकिन्छ भनेर मैले त्य खालको संरचनाको कुरा गरेको हो’, अध्यक्ष प्रचण्डले भने, ‘सरकारले बनाएको संरचना ठीक छ । मुख्य जिम्मेवारी महामारी नियन्त्रण गर्ने सरकारकै हो । तर यो समस्याको समाधान गर्नै सवै शक्ति एक ठाउँमा उभिन जरुरी छ ।’