
कृषि तथा पुशपक्षी विकासमन्त्री घनश्याम भुसालले कोरोना भाइरसको महामारीका कारण उत्पन्न परिस्थितिका कारण नेपालमा पनि भोकमरीको अवस्था आउन सक्ने खतरा औल्याएका छन् ।
अहिलेका अवस्थामा देशभित्र कृषि क्षेत्रमा प्रभावकारी हस्तक्षेप नहुने हो भने भोकमरीको चपेटामा पर्न सक्ने उनले बताएका हुन ।
स्थानीय सरकारहरुलाई पत्र लेखी उनले कतिपय मुलुकले कृषि उत्पादनको निकासीमा बन्देज लगाउन थालिसकेको र अन्तर्राष्ट्रिय बजारमा बढ्ने खाद्यान्नको मूल्य थेग्न कठिन हुने बताए ।
‘आगामी दिन झन् कठिन देखिन थालेका छन् । अन्तर्राष्ट्रिय लगानीमा हुने सङ्कुचनले वैदेशिक रोजगारीका हाम्रा अवसर खुम्चिँदै जानेछन् । अर्थात् एकातिर वैदेशिक रोजगारीबाट फर्कनेहरूको सङ्ख्या बढ्नेछ भने अर्कोतिर हरेक वर्ष वयस्क हुने जनसङ्ख्यालाई रोजगारी अभाव हुँदै जानेछ’ उनले भनेका छन् ‘यसरी बेरोजगारी र गरिबी एकसाथ बढ्दै जानेछ ।
एकातिर अहिलेको प्रतिकूल परिस्थितिले खाद्यान्न उत्पादन घट्नेछ, फलतः आयात बढाउनुपर्नेछ तर, अन्तर्राष्ट्रिय बजारमा बढ्ने खाद्यान्नको मूल्य थेग्नु हाम्रा लागि थप कठिन हुँदै जानेछ ।’
अहिले देखा परेका सामाजिक–आर्थिक चुनौतीको सामना गर्न कृषि क्षेत्रको महत्वपूर्ण भूमिका रहेको भन्दै उनले त्यसका लागि नयाँ सङ्कल्प र योजना आवश्यक परेको बताएका छन् ।
कृषि क्षेत्रको विकासका लागि मन्त्रालयले पाँचवटा नीतिगत आधारसहितको अवधारणा अघि सारेको जानकारी गराउँदै मन्त्री भुसालले स्थानीय तहसँग विभिन्न विषयमा सूचना माग गरेका छन् ।
उनले स्थानीय तहमा कृषि उपज खरिदसम्बन्धी व्यववस्था, जमिनको चक्लाबन्दीको सम्भावनाका विषयमा र बाँझो जमिन उपयोगको विषयमा सूचना माग गरेका छन् ।अनलाइन खबर बाट