
गृह मन्त्रायलले नेपाल प्रहरीका १० जना वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गरेको छ । बढुवा गरिएका मध्ये चार जना ०४९ वैशाखमा भर्ना भएका टोलीका छन् भने ६ जना ०४९ चैतमा भर्ना भएका अधिकृत छन् नेपाल प्रहरीको वेवसाइटमा प्रकाशित सूची अनुसार बढुवाको १ नम्बरमा घनश्याम अर्याल छन् भने त्यसपछि क्रमशः प्रकाशजंग कार्की र वसन्तकुमार पन्त छन् ।
उनीहरुको ब्याचका शैलेश थापा क्षेत्री र हरिबहादुर पाल प्रहरी अतिरिक्ति महानिरीक्षक छन् ।एक वर्षपछि भर्ना भएको टोलीबाट सहकुल थापा पहिलो नम्बरमा बढुवा भएका छन् । उनी अहिले महानगरीय अपराध अनुसन्धान महाशाखामा कार्यरत छन् ।थापा अघि महाशाखाको नेतृत्व सम्हालेका धिरजप्रताप सिंह आफ्नो ब्याचबाट दोस्रो नम्बरमा बढुवा भएका छन् । यो टोलीका विश्वराज पोखरेल १९ वैशाखमै डीआईजीमा बढुवा भइसकेका छन् ।सिंहपछि वसन्तकुमार लामा, रविन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी र अरुणकुमार विसी बढुवा सूचीमा समेटिएका छन् ।
लामा र धानुकले यसअघि काठमाडौं प्रहरी प्रमुखको नेतृत्व सम्हालिसकेका छन् भने सुवेदी हाल काठमाडौंको नेतृत्व गरिरहेका छन् ।बिसी अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा कार्यरत छन् ।डीआईजीको दरबन्दी घटाउने विषयले प्रवेश पाएपछि लामो समयदेखि बढुवा प्रक्रिया रोकिएको थियो ।अन्ततः प्राविधिकबाहेक २६ जना रहेको डीआईजीको दरबन्दी घटाएर १४ कायम भएपछि बढुवा भएको हो । यसअघि नै प्रहरीमा ४ जना डीआईजी छन् ।
सरकारले दरबन्दी घटाउने निर्णय गरेपछि यसले प्रहरीमा आकर्षण घटाएको भन्दै अधिकृतहरुले असन्तुष्टि व्यक्त गरिरहेका छन् ।अनलाइन खबर बाट