
बेलायतमा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट थप एक जना नेपालीको निधन भएको छ । पोखरा घर भई हाल सडवरी टाउन बस्ने पुष्पा घलेको कोरोना भाइरसकै कारण शनिवार निधन भएको छ । उनी एक केयर होममा काम गर्दै आएकी थिइन् ।उनको निधन काेराेना भाइरस संक्रमणकाे कारणले भएको अस्पतालले पुष्टि गरेको छ ।
ज्वरो, खोकी लागेपछि घरमै आइसोलेसनमा बसेकी अन्दाजी ३९ वर्षीया घले शनिवार अचानक श्वासप्रश्वासमा गाह्रो भएपछि नर्थवीक पार्क अस्पताल भर्ना भएकी थिइन् । अस्पताल पुर्याएको करीव ४ घण्टामा घलेको निधन भएको थियो ।
वी नेपालीका अनुसार स्वर्गीय घले श्रीमान, छोरासँग लन्डनको सडवरी टाउनमा १० बर्षदेखि बस्दै आएकी थिइन् । छोरा करीव एक बर्षमात्र उमेरको छ ।
घलेको निधनसँगै सो घरमा बस्ने परिवारसहित सवै जना ‘आइसोलेसन’ मा छन् । अरुको स्वास्थ्य अवस्था सामान्य रहेको पारिवारीक स्रोतले जनाएको छ ।यो सँगै बेलायतमा मात्रै कोभिड १९ कै कारण निधन हुनेको संख्या करिब दर्जन पुगेको छ ।याे खबर बेलायत बाट संचालनमा रहेको लण्डन नेपाल न्युजले प्रकाशित गरेको छ ।