
राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाभाइरस सिर्जित यस संकटलाइ सबैले प्रयास गर्दा मानवजातिको जीत सुनिश्चित रहेको बताएकी छन्। नयाँ वर्ष २०७७ का उपलक्ष्यमा सोमबार शुभकामना सन्देश दिँदै उनले उच्च मनोबल र सकारात्मक सोचका साथ महामारीको रोकथाम एवम् नियन्त्रणका लागि सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई पुनः एकजुट भई अगाडि बढ्न नयाँ वर्षले ऊर्जा प्रदान गर्नेछ भन्ने विश्वास व्यक्त गरेकी छन्।
नयाँ वर्ष आगमनको यस उपलक्ष्यमा भण्डारीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, भ्रातृत्व, एकताका साथै सर्वाङ्गीण विकास र प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छन्।

उनले यस धर्तीमा आज कोरोनाभाइरसले एक लाखभन्दा बढी मानिसको जीवन समाप्त पारिसकेको र लाखौंलाख संक्रमणबाट प्रभावित भई जीवनका निम्ति संघर्ष गरिरहेका बेला आपसी सहयोग, लोककल्याण, त्याग र समर्पणलाई थप सशक्त तुल्याउनुपर्नेमा जोड दिएकी छन्।