
मैले जीवनका उर्जाशील समय अध्ययणको शिलशिलामा दक्षिण कोरियामा बिताए । लामो समय सम्म त्यही बस्दा मेरो कर्मथलो पनि त्यहि स्थापित भयो । त्यहाँ बस्दा धेरै कुराहरु सिक्नुको अलवा नेपाली समुदाय संग प्रत्यक्ष जोडिदै सामाजिक तथा राजनीतिक रुपमा पनि स्थापित हुने मौका मिल्यो ।
संसारहरु घुम्दै जादा जन्मभूमी नेपाल पछिको माया कोरियाकै लाग्छ जहाँ मेरो पसिना र मेहनतको धेरै लगानी छ ।कोरियन संस्कृति,कोरियन मेहनत,समयको महत्व आदि कुराहरुमा अभ्यस्त हुदा कोरियालाइ भुल्न नसक्ने भएको छु । मेरो कर्म थलो दक्षिण कोरिया हो, कोरोना भाइरस कोरियामा प्रवेश नहुदै म नेपाल आएको थिए । म सुरक्षित छु, कोरियाले अपनाएका बिभिन्न बिधिहरु नेपालमा पनि अपनाउन अत्यन्तै आवश्यक छ भन्ने महशुस भैरहेको छ ।
अहिले सबै फुर्सदमा घरमै छौ, यही बेला धेरैको मलाइ प्रश्न आँउछ दक्षिण कोरियाले संक्रमण अगाडी बढन कसरी दिएन ? कोरियामा २० जनवरी देखि फेब्रअरी २० सम्म कोरोना भाइरसको संक्रमण ३४६ जनामा देखिएको थियो । यो आँकडाले कोरियामा व्यापक महामारीको रुप लिन सक्ने आशंका गरिएको थियो । तर यसलाई दक्षिण कोरियाले जहाँ छ त्यहाँ बाट अगाडी बढन दिएन ।
तत्काल नयाँ कदम चालियो, ठाँउको ठाँउ संक्रमितसँग सम्पर्क भएका मानिसलाई ट्रेसिङ गर्न थालियो र नागरिकले पनि राज्यलाई इमान्दारीपुर्वक ठूलो सहयोग गरे । अनि थप संक्रमणको बाटो क्रमिक बन्द भयो । हेर्दा सामान्य नै छ तर यसको लागि राज्यले लिने रणनीति र नागरिकले राज्यलाई गर्ने सहयोगमा भरपर्दो रहेछ ।
दक्षिण कोरियाले जुनसुकै कामको सुरुवात गर्दा होस या संकट पर्दा होस पाल्ली–पाल्ली’ (छिटो–छिटो ) कदम चाल्नु कोरियाको प्रचलन नै हो । यहाँ सबै कुरा छिटो गर्नु पर्छ भन्ने मान्यता नै स्थापित भएको छ । कोरोना भाईरस नियन्त्रणको गति पनि छिटो–छिटो अगाडि कदम चालिएको हो ।
दक्षिण कोरियामा पहिलो संक्रमण देखिए लगत्तै कोरोना भाइरसको परीक्षण र आवश्यक किट्स उत्पादनसँगै आपूर्तिमा जोड दिइयो । धेरैभन्दा धेरै परीक्षण गरियो ,जसलाई संक्रमण देखिन्छ उनीहरुलाई कडा निग्रानीमा राखियो ।
अहिले कोरियाका स्वाथ्यकर्मीहरुले देखाएको त्याग,सेवा भाव र उच्च आत्मबल संसारको लागि महत्वपूर्ण पाठ बन्न पुगेको छ । त्यहाँको जनजीवन खासै प्रभावित बनेको छैन ।
अझ विस्तारै पहिलाकै अवस्थामा केन्द्रित हुदै छ । स्कुल, शैक्षिक संस्थाहरुको बिदा अविध थप गरि अनलाइन बाट पढाइ सुचारु गरिएको छ । अझ अर्को रोचक कुरा यस्तो अवस्थामा समेत बुधबार अर्थात आज दक्षिण कोरियामा संसद्को राष्ट्रिय एसेम्ब्लीको मतदान समेत सम्पन्न भयो । जहाँ ६६ प्रतिशत मतदान भयो भने क्वारेन्टीनमा राखिएका चार सय भन्दा बढि कोरोना संक्रमितहरुले समेत मतदान गरे ।
दक्षिण कोरियाले राज्यका संयन्त्रहरुको परिचालन लाई प्रभाबकारी रुपमा परिचालन गरेको र नागरिकको राम्रो साथ पाएकाले गर्दा कोरोना भाइरस नियन्त्रणमा विश्वका अरु देश भन्दा आफुलाई अब्बल सावित गर्न सफल भएको मान्न सकिन्छ ।
कोरियामा रहेका झन्डै ४५ हजार हाराहारी नेपालीहरु मध्ये अहिलेसम्म कसैलाई पनि कोरोनाको संक्रमण भएको छैन । दक्षिण कोरियाले अन्य देशमा जस्तो जनजीवन प्रभावित हुने गरि लकडाउन पनि गरेन । यूरोप र अमेरिका जस्ता देशले अर्थतन्त्रलाई नै जोखिममा पर्ने गरी भाइरस फैलिन पनि कोरियाले दिएन ।
विश्व स्वास्थ्य संगठनको डाटा होस या अन्य बिभिन्न सरोकारवाला अन्र्तराष्ट्रिय निकायहरुको डाटा तथा आकंडामा कोरोना नियन्त्रणमा प्रभाबकारी काम गरिरहेका देशहरु मध्ये कोरिया एक नम्बरमा आउने गरेको छ । जहाँ दैनिक संक्रमण दर र मुत्युदर घटिरहेको छ । थप फैलन नदिन प्रभाबकारी स्वास्थ्य कदमहरु चालिएको छ ।
कोरियामा बसोबास गर्ने सम्पुर्ण नेपाली समुदायको अपेक्षा पनि त्यही होला कोरियाको जस्तो प्रभाबकारी स्वास्थ्य सुरक्षाको ब्यवस्था मेरो देशमा होस । यस्तै कुरालाई मध्यनजर गदै चार दिनमै एक करोड ४० लाख हाराहारीमा नेपाली रुपँया संकलन गरेर नेपाली समुदायले कोरोना भाइरस परिक्षण गर्ने प्रभाबकारि करिब ४ हजार हेल्थ किट नेपाल पठाएर अर्को उदारणीय कार्य गरेको छ । यो कार्य सम्पुर्ण बिश्वमा बसोबास गर्ने नेपाली समुदाय प्रति एउटा सिकाइको विषय पनि हुन सक्छ ।
हामी पनि राज्यले कोरोना रोकथामको लागि अगाडी सारेका रणनीतिहरुको इमान्दरीतापुर्वक पालना गरौँ । नागरिक प्रति राज्य जवाफदेहि र राज्य प्रति नागरिक इमान्दार बनेपछि समस्याको समाधान अवश्य हुने छ । देश विदेशमा बस्ने सबै नेपालीहरुको स्वास्थ्य लाभको कामना गर्दछु ।
लेखक ः जनसम्पर्क समिति दक्षिण कोरियाकी सभापति तथा सौल नेशनल युनिभर्सिटीको सोधकर्ता हुन ।