
जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमले लकडाउन अवधिमा पनि गाँउमा लगाएको अबैध अफिम तथा गाँजा खेति नष्ट गर्ने थालेको छ । प्रहरीले जिल्लाका विभिन्न ठाँउहरुमा लुकाएर लगाएको अफिम खेती नष्ट गर्ने अभियानलाई अघिल्लो साता बाट सुरु गरेको हो । यतिबेला अफिमले फुल खेल्न थालेको र यहि मौकामा अफिम पनि संकलन गरिने भएको हुदा प्रहरीले नष्ट गदै हिडेको छ ।
शान्ति सुरक्षा तथा अन्य अन्य जिम्मेवारी भित्रका कामहरु हाम्रा नियमित कामहरु हुन जिल्ला प्रहरी कार्यालय रुकुमका डिएसपी ठग बहादुर केसी बताउछन् । महामारी नियन्त्रणको लागि सरकारले अगाडी सारेका रणनितिहरु कार्यन्वयन गराउने पक्ष पनि छदै छ अर्को तर्फ समाजमा हुने अपराध र अबैध गतिबिधिको निग्रानी त नियमित नै हुन डिएसपी केसीको भनाइ छ ।

प्रहरीले अघिल्लो साता सानोभेरी गाँउपालिकाका विभिन्न वडाहरुमा करिब १० बिगाह क्षेत्रफलमा लगाएको अफिम नष्ट गरेको थियो । यस्तै आइतबार बाँफिकोट गाँउ पालिकाको १० नम्बर सेजे,ठुलीखर्क र जहारे गाँउमा लगाइएको करिव ४ बिगाह क्षेत्रफलको अफिम नष्ट गरेको छ । प्रहरीले यस्तो अबैध खेती नगर्न सार्वजनिक रुपमै सबैलाइ पटक पटक आह्वान गदै आएको छ ।

अफिमको अबैध खेती गर्नेलाई नेपालमा कडा कानुनी ब्यवस्था भएपनि मानिसहरु यसको लुकीछिपि खेती गर्न छाडेका छैनन । एक बोट देखि २५ बोट सम्म अफिम खेती गर्नेलाई एक वर्ष देखि ३ बर्ष सम्म कैद र पाँच हजार देखि पच्चिस हजार सम्म जरिवाना हुने ब्यवस्था छ । त्यो भन्दा माथी बोटहरुको खेती गर्नेलाई तिन बर्ष देखि १४ बर्ष सम्म जेल सजाय र २५ हजार देखि दुइ लाख सम्म जरिवाना हुने ब्यवस्था छ ।त्यस्तै एक सय ग्राम देखि माथीको अफिम कारोबार गर्नेलाई १५ बर्ष देखि जन्मकैद सम्म जेल सजाय र पाँच लाख देखि २५ लाख सम्म जरिवाना गर्ने कानुनी ब्यवस्था छ ।