अमेरिकामा विभिन्न राज्यहरुमा कोरोनाभाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेहरूको सङ्ख्या ४१ हजार नाघेको छ।जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार त्यहाँ सङ्क्रमित हुनेहरूको सङ्ख्या साढे सात लाखभन्दा बढी छ।
सबैभन्दा प्रभावित न्यूयोर्कमा आक्रामक रूपमा परीक्षण सुरु गरिने बताइएको छ।
न्यूयोर्क राज्यमा सङ्क्रमणको दर क्रमिक रूपमा कम हुँदै गएका बेला गभर्नर एन्ड्र्यू कोउमोले आफ्नो राज्यमा “आक्रामक रूपमा” एन्टीबडी परीक्षण गरिने बताएका हुन्।
उक्त परीक्षणले न्यूयोर्कमा कोरोनाभाइरसबाट कति मानिस सङ्क्रमित छन् भन्ने कुरा पहिचान गर्ने बताइएको छ।
अमेरिकामा सबैभन्दा बढी मृत्यु न्यूयोर्क राज्यमा भएको छ। कुल ४१ हजार ज्यान गुमाउनेमध्ये करिब १४ हजार ५०० न्यूयोर्कमा रहेको बिबिसी ले जनाएको छ ।
नियमित पत्रकार सम्मेलनका क्रममा आइतवार राष्ट्रपति डोनल्ड ट्रम्पले ४० लाखभन्दा बढी अमेरिकीहरूको परीक्षण गरिसकिएको र परीक्षण “तीव्र गति”मा अगाडि बढाइएको बताएका छन्।