विपन्न परिवारलाई राहतमा वितरणमा गुणस्तरहीन खाद्यवस्तु वितरण गरेको अभियोगमा बाराको कलैया उपमहानगर पालिकाका मेयर राजेश रायलाई प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय, बाराबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो उनलाई कलैयाबाट नियन्त्रणमा लिएको हो ।मेयर रायले राहतका नाममा गुणस्तरहीन चामल, दाललगायतका उपभोग्य वस्तु वितरण गरेको उजुरी परेपछि उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, बाराका एसपी कृष्ण पंगेनीले अनलाइनखबरलाई जानकारी दिए ।
कलैया उपमहागरपालिकाका वडा नम्बर २२ मटिअरीया, वडा नम्बर ७ र २० मा वितरण गरिएको चामल, दाल कुहिएको भेटिएको थियो । राहत लिएकाहरुले फिर्ता गर्दै वितरण गर्नेलाई कारवाही माग गरेका थिए ।
कुहिएको दाल बेचेको घटनामा संलग्न ८ जना यसअघि नै पक्राउ परिसकेका छन्। यसअघिकलैया–१ का वडाध्यक्ष हरिओम साह, वडा नं. ७ का अध्यक्ष सर्फुल्लाह अन्सारी, कलैया–२० का वडा सचिव खेदु मियाँसँगै कलैया–७ स्थित यादव आइस एन्ड कोल्डस्टोरका कर्मचारी कृष्णप्रसाद यादव र वीरगन्जस्थित धनलक्ष्मी दाल मिलका सञ्चालक तेजकरण जैनलाई नियन्त्रणमा लिइएको थियो ।