
संसारका विभिन्न ठाँउमा विभिन्न तरिकाले बसोबास गर्दै आएका नेपालीहरुले संकटमा नेपाललाई सहयोग गर्दै आएका छन् । यसैको पछिल्लो उदाहरण हो थाइ नेपाली संघका अध्यक्ष कुमार कार्कीको सहयोग । वर्मामा जन्मेर थाइल्यान्डमा ब्यवसाय संगै विभिन्न सामाजिक कार्यमा क्रियाशिल कार्की नेपाली भुमिलाई असाध्यै माया गर्ने मध्येका एक हुन । हरेक आपत विपत र संकटमा नेपालीहरु प्रति भावनात्मक रुपमा संधै नजिक भएर कार्की कार्य गर्छन् ।
विगतमा महाभूकम्पको समयमा पनि थाइ नेपाली संघ र कार्कीले सहयोग गरेका थिए । उनीहरुको सहयोमा नेपालको सिन्धुपाल्चोकमा पहिलो नमुना बस्ती निर्माण भएको थियो । यो संगै उनिहरुले विभिन्न भागमा राहत र सहयोग पनि थाइ नेपाली संघ मार्फत गरेका छन्।
पछिल्लो समय विश्वभर फैलिएको कोरोना भाइरसको महामारी विरुद्ध लड्न नेपाल सरकारले निर्माण गरेको कोरोना कोषमा अध्यक्ष कार्कीले व्यक्तिगत रुपमा १ लाख रुपैयाँ सहयोग गरेका छन् ।
यस मानवीय संकटमा नेपालीहरुको उपचार र राहतमा थप सहयोग होस भनेर उक्त रकम उपलव्ध गराएको उनले बताए । एनआरएनए मार्फत उक्त रकम नेपाल सरकारको गरेको कोषमा जम्मा हुने छ ।
आफू बर्मामा जन्मे पनि आफना पूर्खाहरुको देश नेपालको माटो र नेपाली जनतासँग जोडिएको भावनात्मक सम्वन्धले विपतको घडीमा सहयोग उपलव्ध गराएको कार्कीले बताए । कर्मले जो जहाँ भएपनि भावनाले सबै नेपालीहरुको आस्थाको केन्द्र नेपाल हो । नेपालमा संकट आउँदा संसारभरी फैलिएर रहेका नेपालीहरुले सहयोग गर्दै आएका छन ।